काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को चर्चित फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स (सीएसके) ले भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई टिम मेन्टरको जिम्मेवारी दिएको घोषणा गरेको छ।
टोलीले धोनीलाई जीवनमा एकपटक प्राप्त हुने असाधारण खेलाडीको संज्ञा दिँदै उनको नयाँ भूमिकाले टोलीसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
धोनी चेन्नई सुपर किंग्सको सुरुवातदेखि नै टोलीको अभिन्न हिस्सा रहँदै आएका छन्। उनको कप्तानीमा चेन्नईले विभिन्न सफलता हासिल गर्नुका साथै कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।
टोलीले जारी गरेको सन्देशमा धोनीले टोलीलाई उपाधिसम्म पुर्याउन खेलेको भूमिका र नयाँ पुस्ताका खेलाडीलाई मार्गदर्शन गर्ने जिम्मेवारीको प्रशंसा गरिएको छ।
चेन्नई सुपर किंग्सले धोनीलाई टोलीको पहिचानको अभिन्न अंगका रूपमा उल्लेख गर्दै चेन्नई सधैँ उनको घर रहने जनाएको छ।



