घाटमै जाग्राम बसेर बर्तालुले मनाए छठ

हिमाल प्रेस १ मंसिर २०८३ ७:०७ | Monday, November 16, 2026
घाटमै जाग्राम बसेर बर्तालुले मनाए छठ

काठमाडौँ- छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दान गरेका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ घाटमै जाग्राम बसेका छन् ।

कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दान गर्नुअघिसम्म बर्तालु यहीँ जाग्राम बस्ने छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

बर्तालु पूजा, आराधनापछि भजनकीर्तनका साथै भक्तिसंगीत बजाएर नाचगान गर्दै बसेको उनले सुनाए। सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अर्घ्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ। छठ घाटमा बस्न नसक्ने बर्तालु भने बेलुकीको कर्म सकेर घर गई बिहानै घाटमा आई व्रत समापन गर्छन्।

आज बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दानका लागि भक्तजन उपस्थिति भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष सिंहले उल्लेख गरे। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डवको गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरण चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार गरिएको छ ।

पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । व्रत गर्ने सामग्री नभई गुह्येश्वरीमा आएर छठ पूजा गर्न चाहनेलाई निःशुल्क रूपमा सबै व्यवस्था गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित: १ मंसिर २०८३ ७:०७ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast