फाइल तस्बिर।
काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।



