दूध बेचेर वार्षिक ११ लाख आम्दानी गर्छन् इलामका महत, दुई युवालाई रोजगारी

हिमाल प्रेस २९ कार्तिक २०८३ १३:४५ | Sunday, November 15, 2026
दूध बेचेर वार्षिक ११ लाख आम्दानी गर्छन् इलामका महत, दुई युवालाई रोजगारी

इलाम- वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सूर्योदय नगरपालिका-८ कजेनीका दिनेश महत।

महतले गाईपालनसँगै व्यावसायिक स्कुस र चियाखेती गरेर आफूलाई स्वरोजगार बनाएका छन् भने स्थानीय दुई युवालाई नियमित रोजगारीसमेत दिएका छन्।

चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेर ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतले अहिले दूध उत्पादनसँगै खेतीपातीलाई पनि आम्दानीको स्रोत बनाएका छन्।

उनको फार्ममा अहिले १० माउ गाई छन्। तीमध्ये पाँचवटा दुहुना छन् भने पाँचवटा चाँडै बियाउने अवस्थामा छन्। फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन्। गाईबाट दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुँदै आएको छ।

उत्पादित दूध उनले नजिकैको सहकारीमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने महतले बताए। लगानी र उत्पादन लागतको तुलनामा दूधको मूल्य कम पाएको उनको गुनासो छ।

गाईपालनलाई व्यावसायिक रूपमा अघि बढाउन उनले ३० रोपनी जग्गामा सुपर नेपियर, अम्रिसो र अन्य प्रजातिका घाँस लगाएका छन्। यसले पशुका लागि आवश्यक आहार व्यवस्थापन गर्न सहयोग पुगेको छ।

पशुपालनमा मात्रै निर्भर नरहेका महतले एक सय रोपनी जग्गा भाडामा लिएर बहुआयामिक खेतीसमेत गर्दै आएका छन्। त्यसमध्ये ४० रोपनीमा व्यावसायिक स्कुसखेती र बाँकी क्षेत्रमा चियाखेती गरेका छन्। गाईबाट उत्पादन हुने मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएका उनले पशुपालन र कृषिबीचको सम्बन्धलाई आम्दानीको अर्को आधार बनाएका छन्।

फार्ममा काम गर्ने दुई स्थानीय युवालाई खानबस्न सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब दिने गरेको महतले बताए। यसरी उनको व्यवसायले परिवारको आम्दानीसँगै स्थानीय स्तरमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ।

गाउँमै बसेर व्यावसायिक कृषि तथा पशुपालनमार्फत विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले यो व्यवसाय रोजेको महतको भनाइ छ। युवाहरूलाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै सम्भावना खोजेर उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २९ कार्तिक २०८३ १३:४५ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast