काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणाली व्यवस्थित गर्ने विषयमा पटकपटक छलफल हुँदै आए पनि अपेक्षित सुधार हुन सकेको छैन। यसैबीच विश्वविद्यालयको शैक्षिक प्रणाली सुधार्न भन्दै सबै कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ।
हालै सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा त्रिविका पदाधिकारी र मन्त्रालयका अधिकारीबीच भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयन, अनुसन्धानमूलक गतिविधिको प्रवर्द्धन, पठनपाठनको प्रभावकारिता वृद्धि र सम्बन्धन वितरणलाई व्यवस्थित बनाउने विषयमा चर्चा भएको हो।
छलफलमा त्रिविका उपकुलपति भोला थापा, शिक्षाध्यक्ष अञ्जना सिंह, रजिस्ट्रार रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विभिन्न संकायका डीन सहभागी थिए।
विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किएको, परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको तथा अनुसन्धानमूलक गतिविधि अपेक्षाकृत प्रभावकारी हुन नसकेको अवस्थामा सुधारका विषयमा छलफल भए पनि त्यसलाई कार्यान्वयन गर्ने ठोस समयसीमा र जिम्मेवारीबारे भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
छलफलमा शिक्षामन्त्रीका सल्लाहकार झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणाली लागू गर्दा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले सम्बन्धन वितरणमा क्याम्पसको संख्या बढाउनेभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्ने उनको भनाइ थियो। तर, मापदण्ड पूरा नगर्ने क्याम्पसलाई कसरी नियमन गर्ने र मापदण्ड उल्लंघन गरेमा कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफलले ठोस निष्कर्ष दिएको छैन।
झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्र नियमित बनाउनुपर्नेमा जोड दिए। त्रिविको स्वामित्वमा रहेका तर विभिन्न प्रयोजनमा प्रयोग भइरहेका जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
छलफलमा त्रिविका सबै कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिइयो। त्यसका लागि पाठ्यक्रम निर्माण र परिमार्जनको काम अघि बढाइएको बताइए पनि कहिलेदेखि प्रणाली कार्यान्वयन हुने र त्यसका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार कसरी व्यवस्थापन गरिने भन्ने खुलाइएको छैन।
त्रिविका उपकुलपति थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए। उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरेर विस्तृत कार्ययोजनासहित अघि बढ्ने धारणा राखे।
मन्त्रालयका सहसचिव भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।



