जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन निश्चित, बालेन र मोदीले उद्घाटन गर्ने

हिमाल प्रेस २८ कार्तिक २०८३ २१:३९ | Saturday, November 14, 2026
जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन निश्चित, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच ‘वन्दे भारत एक्सप्रेस’ रेल सञ्चालन हुने भएको छ। आगामी नोभेम्बर २३ तारेखदेखि जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेल सञ्चालन हुने भएको हो।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत रेल सेवाको उद्घाटन गर्ने लखनउ मण्डल रेल प्रबन्धकले जनाएका छन्।

उनका अनुसार दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर भर्चुअल माध्यमबाट उद्घाटन अयोध्या रेल्वे स्टेशनबाट जनकपुरधामका लागि रेललाई बिदाइ गर्नेछन्।

उद्घाटन समारोहमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगदी आदित्यनाथ, भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उत्तर प्रदेशका उपमुख्यमन्त्रीद्वय केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायतका व्यक्तिहरू उपस्थित हुने जनाइएको छ।

जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने भनिएको ‘वन्दे भारत’ रेल भारतको उत्कृष्ट रेलमध्ये एक हो। जनकपुरधाम र अयोध्याबीच रेल सञ्चालनमा आइसकेपछि धार्मिक पयर्टन फस्टाउने अपेक्षा जनकपुरधामका स्थानीयहरूले गरेका छन्।

दुवै धार्मिकस्थलबीच रेल सञ्चालन गर्ने विषयमा लामो समयदेखि छलफल चल्दै आएको थियो। रेल सञ्चालनको तयारीस्वरूप हालसालै अयोध्याबाट १७ बोगीको रेल जनकपुरधामसम्म पठाएर भारतीय पक्षले परीक्षणसमेत गरेको थियो।

सफल परीक्षणपछि जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन गर्न भारतीय रेल्वेले औपचारिक अनुमति दिएको हो। अधिकारीहरूका अनुसार जनकपुरधाम र आयोध्याबीच सञ्चालन हुने रेल १५ देखि १६ घण्टामा गन्त्व्यमा पुग्नेछ।
नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा पनि सहमति भएको छ।

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २८ कार्तिक २०८३ २१:३९ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast