छठको उल्लास : झकिझकाउ बनाइयो पूजाघाट (तस्बिरहरू)

हिमाल प्रेस २७ कार्तिक २०८३ १०:५८ | Friday, November 13, 2026
छठको उल्लास : झकिझकाउ बनाइयो पूजाघाट (तस्बिरहरू)

काठमाडौँ- सूर्यदेव र छठी माताको उपासना गरी मनाइने लोकआस्थाको महापर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि देशभरका नदी, पोखरी तथा जलाशय किनारमा पूजाघाट निर्माण, सरसफाइ र सजावट गरिएको छ।

महोत्तरीको मटिहानी र धनुषाको तुल्सीयाही हुँदै भारततर्फ बग्ने बिग्ही नदीमा नेपाल र भारतका श्रद्धालुका लागि संयुक्त छठघाट निर्माण गरी तयारी पूरा गरिएको छ। नेपालतर्फका मटिहानी र तुल्सीयाही तथा भारतको मधवापुरका व्रतालुका लागि निर्माण गरिएको उक्त घाट करिब दुई किलोमिटर लामो छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित राप्ती नदी किनारमा पनि छठ पर्वका लागि पूजास्थल तयार पारिएको छ। यस वर्ष पनि पर्वलाई लक्षित गरी नदी किनारमा पूजास्थल सजाउने र आवश्यक व्यवस्थापन गर्ने काम भइरहेको छ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बजारमा छठ पर्वका लागि आवश्यक बाँसबाट निर्मित सामग्रीको बिक्री बढेको छ। पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ।

धनुषाको जनकपुरधामस्थित पवित्र गंगासागरमा छठ पर्वको तयारीस्वरूप जलाशय सरसफाइ गरी घाट तथा पण्डाल सजाउने काममा स्थानीयवासी जुटेका छन्।

कपिलवस्तुको बाणगंगा नदीस्थित रामघाट र जमुवार नदी किनारमा पनि छठ पूजाका लागि बेदी निर्माण तथा सरसफाइ भइरहेको छ। पछिल्लो समय कपिलवस्तुमा समेत छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको छ।

छठ पर्वमा व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ। तराई मधेसमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय देशका विभिन्न पहाडी तथा सहरी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।

तस्बिरहरू

प्रकाशित: २७ कार्तिक २०८३ १०:५८ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast