समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्।
समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ। आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ।
भीमफेदी-देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए।
सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।



