सुदूरपश्चिम रोयल्स। फाइल तस्बिर।
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत छैटौँ चरणको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल साँझ ५ बजे सुरु हुनेछ।
पहिलो संस्करणको उपाधि विजेता जनकपुर र सुदूरपश्चिमबीचको यो प्रतिस्पर्धा दुवै टोलीका लागि महत्त्वपूर्ण छ। पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले उपाधि जितेको थियो। तर दोस्रो संस्करणमा जनकपुरले अपेक्षित प्रदर्शन गर्न सकेन र लिगको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको थियो। सुदूरपश्चिम भने लगातार दोस्रो पटक फाइनलसम्म पुगेको थियो।
तेस्रो संस्करणमा दुवै टोली प्लेअफको दौडमा छन्। पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको जनकपुर पाँचौँ स्थानमा रहेको छ।
आजको खेल जित्दै दुवै टोली प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन्। सुदूरपश्चिम लगातार तेस्रो पटक प्लेअफमा स्थान बनाउने अभियानमा छ भने जनकपुर दोस्रो पटक उपाधि जित्ने सम्भावना कायम राख्न जितको खोजीमा हुनेछ। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन्।
एनपीएलको इतिहासमा जनकपुर र सुदूरपश्चिमबीच अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले पहिलो संस्करणको फाइनलमा मात्रै जित निकालेको छ।
पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमै समेटिएको थियो। एनपीएलमा एक इनिङमा बनेको यो अहिलेसम्मकै न्यून स्कोर हो।
त्यसपछि पहिलो संस्करणकै पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको थियो। जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।
उपाधिका लागि भएको फाइनलमा भने जनकपुरले सुदूरपश्चिमसँग बदला लियो। सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै पाँच विकेटको जितसहित पहिलो संस्करणको उपाधि उचालेको थियो।
दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरमाथि आफ्नो दबदबा कायम राख्यो। उसले जनकपुरलाई ६ विकेटले पराजित गरेको थियो। जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।



