खाद्यले सुरु गरेन धान खरिद प्रक्रिया, किसान पर्खाइमा

हिमाल प्रेस २३ कार्तिक २०८३ १९:४४ | Monday, November 9, 2026
4
SHARES
खाद्यले सुरु गरेन धान खरिद प्रक्रिया, किसान पर्खाइमा

बाँके- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन।

लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज-१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए। खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन्।

‘घरभरि धान थुप्रिएको छ, राख्ने ठाउँ छैन। खाद्यले अहिलेसम्म खरिद सुरु गरेको छैन’, वलीले भने,‘व्यापारीलाई नदिएर खाद्यलाई धान बिक्री गर्न प्रतिक्षा गरिहेका छौं।’

कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए।

गत वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो।

त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो।

कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य रु तीन हजार ८६० निर्धारण गरेको छ।

तर व्यापारीले कम्पनीले तोकेको मूल्यभन्दा रु ५०० देखि रु एक हजार ५०० कम मूल्यमा धान खरिद गरिरहेको नेपालगञ्ज-१९ सुयिगाउँका किसान ध्रुव थापाले बताए।

प्रकाशित: २३ कार्तिक २०८३ १९:४४ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast