बाजुरा- उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि भेडापालक किसान बेँसी झर्न थालेका छन्।
कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन्।
बुढीनन्दा नगरपालिका-९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताए।
उनले साँफेमार्तडी सडकखण्ड हुँदै २०० भेडासहित चिसो छल्न अछामको गैल जान लागेको बताए। गाउँमा चिसोसँगै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या हुने भएपछि चैत-वैशाख महिनासम्मका लागि बेँसी झरेको उनको भनाइ छ।
हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहजताका लागि किसानहरू परम्परागत मौसमी बसाइँसराइमा लागेका हुन्।
उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडालाई घाँस तथा चरनको अभाव हुने भएकाले किसानहरू भेडाको बथानसहित बेँसी झर्ने गर्छन्।
पुस्तौँदेखि चल्दै आएको यो परम्पराले यहाँको पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ।
जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न जिल्लाका बुढीगंगा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा गएर बस्ने गर्दछन्।



