संस्कृति जोगाउँदै आम्दानी गर्ने लक्ष्यसहित पञ्चेबाजा सिक्दै महिला

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:५२ | Thursday, November 5, 2026
संस्कृति जोगाउँदै आम्दानी गर्ने लक्ष्यसहित पञ्चेबाजा सिक्दै महिला एआईको सहयोगमा निर्मित तस्बिर

दाङ- लमहीका महिला पञ्चेबाज बजाउने सीप सिक्दै छन्। परम्परागत कला,संस्कृतिको संरक्षण गर्ने तथा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले महिलालाई उक्त सीप सिकाउन थालिएको लमही नगरपालिकाले बताएको छ।

लमही नगरपालिका-३ का महिलालाई पञ्चेबाजा बजाउने सम्बन्धी पुनर्ताजगी तालिम दिन थालिएको छ। तालिममा पहिलो चरणको अभ्यास पूरा गरिसकेका ‘जखेरा महिला पञ्चेबाजा समूह’ का १६ महिला सहभागी छन्।

कात्तिक २१ गतेसम्म सञ्चालन हुने तालिममा पञ्चे बाजाका विभिन्न बाजा बजाउने कला, लय र तालिमसम्बन्धी सीपलाई थप परिष्कृत गरिने आयोजकले जनाएको छ।

लमही नगरपालिका-३ का वडाध्यक्ष मनोजकुमार चौधरीले चालु आवमा विनियोजित बजेटबाट बेरोजगार तथा फुर्सदिला गृहिणी महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तालिम सञ्चालन गरिएको बताए। देउखुरी क्षेत्रमा पञ्चेबाजा बजाउने समूहको संख्या न्यून छ।

विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा पञ्चे बाजाको उच्च माग हुने भएकाले उक्त सीप महिलाका लागि आम्दानीको राम्रो माध्यम बन्नसक्ने भन्दै तालिम दिन सुरु गरिएको चौधरीको भनाइ छ।

विगतमा सञ्चालित सीपमूलक तालिमबाट धेरै महिलाले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न सफल उनले बताए। लमही नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले स्थानीय महिलाको बाजा बजाउनेतर्फ उत्साहजनक सहभागिता रहेकाले थप दक्ष बनाउन पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी दिइन्।

परम्परागत रूपमा पुरुषले मात्र बजाउँदै आएको पञ्चेबाजामा महिलाको सहभागिताले लैङ्गिक समानता कायम गर्नुका साथै लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने विश्वास छ।

तालिमको प्रशिक्षण गढवा पञ्चेबाजा समूहका रेशमबहादुर शाही र भीमबहादुर थापा क्षेत्रीले गरिरहेका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ १२:५२ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast