काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरंकुश बन्दै नागरिक र प्रतिपक्षको आवाज थुन्न उद्यत रहेको ठहर गरेको छ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको आकस्मिक पदाधिकारी बैठकले असंवैधानिक कदमविरूद्ध उठ्ने नागरिक र प्रतिपक्षको आवाज थुन्न सरकार उद्यत रहेको ठहर गरेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको आलोकतान्त्रिक चरित्र उजागर गरेको बताए।
वरिष्ठ उपसभापति शर्माले वर्तमान अवस्थामा सञ्चारकर्मीहरूसमेत सुरक्षित नरहेको उल्लेख गरे।
‘तपाईंहरूभन्दा पहिले म आज एउटा प्रश्न सोध्न चाहन्छु,’ उनले सञ्चारकर्मीहरूसँग भने,‘के तपाईंहरू अहिले सुरक्षित हुनुहुन्छ? भयरहीत भएर कलम चलाउन पाइरहनु भएको छ?’
कुनै पनि मुलुकको लोकतन्त्रको मानक चुनाव नभएर स्वतन्त्र प्रेस हुने गरेको उनको भनाइ थियो। वरिष्ठ उपसभापति शर्माले सरकारको गलत कामको विरोध गर्दा पार्टीमाथि षडयन्त्र र आक्रमण भएको दाबी गरे।
पार्टीको ८० वर्षे इतिहासमा यस्ता चुनौती पटकपटक सामना गरेको बताउँदै कांग्रेसले राजनीतिक र कानुनी दुवै ढंगले उभ्ने जनाएको छ।
‘पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेविरूद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढंगले सशक्त रूपमा उभिनेछ,’ महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टीलाई ‘डिफेम’ गर्ने वदनियतका साथ आएका षडयन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानुनी दुवै ढंगले सामना गर्नेछ।’
यसका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा आवश्यक कानुनी परामर्श अगाडि बढाउनुका साथै संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसदमा आवयश्क पहलकदमी लिने कांग्रेसले जनाएको छ।
कांग्रेसले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने र प्रतिपक्षसँग प्रतिवाद गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराएको छ।
‘सरकारको प्राथमिकता विपद्बाट प्रताडित जनताको राहत र पुनःस्थापना, ठप्प बनेको अर्थतन्त्र पुनरुत्थान, जलवायु संकटको सम्बोधन जस्ता विषयमा हुनुपर्छ, प्रश्न सोध्ने नागरिकको मुख थुन्ने वा प्रतिपक्षसँग प्रतिवाद गर्ने षडयन्त्र र हर्कतमा होइन,’ विज्ञप्तिमा उल्लेख छ।
जनसरोकारका मुद्दामा जिम्मेवार र रचनात्मक सहयोगका लागि नेपाली कांग्रेस सधैँ तयार रहेको बताउँदै विज्ञप्तिमा राज्य नियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गरी जनताका मूल मुद्दमा केन्द्रित हुन सरकारसँग आग्रह गरिएको छ।
गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएर सरकारका संरक्षित गिरोहले आफ्नो गल्ती ढाकछोप र विषयान्तर गर्न षडयन्त्र बुनेको दाबी गर्दै कांग्रेसले जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा दृढ रहन पार्टीपंक्तिसँग अपिल गरेको छ।
कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम लिएर राज्यका निकायहरू दुरुपयोग भइरहेका तथ्यहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेको जनाएको छ।
‘प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अधिकृत व्यक्तिबाट ‘राज्य संरक्षित गिरोह’ कै शैलीमा फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने, संवाद गर्ने जे जस्ता कार्यह भएका सन्दर्भ बाहिर आएका छन् यसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायहरू शासकको स्वार्थका लागि कसरी ‘शस्त्रीकरण’ हुन्छन् भन्ने कुराको पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय सम्बद्ध व्यक्तिले हिरासतमा रहेका व्यक्तिमाथि अनधिकृत नियन्त्रण गरी छेडखानी गरेको बताउँदै कांग्रेसले प्रहरी महानरीक्षक हटाउनु यसकै एउटा कडी रहेको जिकिर गरेको छ।
‘प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय सम्बद्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषय बाहिर आएका छन्। प्रहरी महानिरीक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो,’ कांग्रेसले भनेको छ।
शासन सञ्चालनको यो शैली लोकतान्त्रिक व्यवस्थामाथि चुनौती रहेको भन्दै कांग्रेसले गल्तीको ढाकछोप गर्न, प्रश्न गर्नेलाई तर्साउने मनसायबाट यस्ता कार्य भइरहेको ठहर गरेको छ।
‘शासन सञ्चालनको यो शैली लोकतान्त्रिक व्यवस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि नै गम्भीर षडयन्त्र र चुनौती हो,’ विज्ञप्तिमा भनिएको छ,‘यी शृंखलाबद्ध घटना त्यही मनोवृतिका उपज हुन। सेलेक्टिभ र निर्देशनात्मक यस्तो अनुसन्धान आफ्ना गल्तीको ढाकछोप गर्ने, प्रश्न गर्नेलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने कुलषित मनसायबाट भइरहेको छ भन्ने नेपाली कांग्रेसको ठहर छ।’
कांग्रेसले इनम सापकोटा प्रकरणलगायत सबै घटना र राज्य संयन्त्रलाई दुरुपयोग गरी अनधिकृत एवं गैरकानुनी कार्य गर्नेमाथि स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धानका लागि माग गरेको छ।
पार्टीको वैधानिकताको सन्दर्भमा सभापति गगन थापमाथि लगाइएका आरोप, अडियो बयान र प्रचारहरू निराधार तथा कपोकल्पित रहेको कांग्रेसले दाबी गरेको छ।



