काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उन्नत लोकतन्त्र, सुशासन र समृद्धिलाई एकअर्कासँग अन्तर्सम्बन्धित तथा एकीकृत प्रक्रियाका रूपमा बुझेर व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
मंगलबार नेपाल न्याय सेवा (कानून, न्याय तथा सरकारी वकिल समूह) का राजपत्रांकित तृतीय श्रेणीका नवनियुक्त अधिकृत कर्मचारीहरूलाई ‘नेपालको समृद्धि र सुशासनको मार्ग’ विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण प्रदान गर्दै भट्टराईले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा सहभागी नवनियुक्त अधिकृतहरूसँग विचार तथा अनुभव आदानप्रदान गर्न पाउँदा सन्तोषको अनुभूति भएको उनले बताएका छन्।
उनले झण्डै ५० प्रतिशतभन्दा बढी महिला तथा समावेशी प्रतिनिधित्व रहेको जेनजी उमेर समूहका राष्ट्रसेवक कर्मचारीहरूले देशमा सुशासन र समृद्धिको बलियो जग निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नयाँ पुस्ताका राष्ट्रसेवकहरूले लोकतान्त्रिक मूल्य, विधिको शासन, सुशासन र विकासलाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न सके मुलुकको समृद्धिको यात्राले गति लिने उनको अपेक्षा छ।
नवनियुक्त अधिकृत कर्मचारीहरूले राष्ट्रसेवामा प्रवेशसँगै इमानदारी, निष्पक्षता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मुलुकको सुशासन र समृद्धिमा उल्लेखनीय योगदान गर्न सकून् भन्ने उनले हार्दिक शुभकामना व्यक्त गरेका छन्।



