एनपीएल : पोखराविरूद्ध लुम्बिनीको सहज जित

हिमाल प्रेस १७ कार्तिक २०८३ २०:१४ | Tuesday, November 3, 2026
12
SHARES
एनपीएल : पोखराविरूद्ध लुम्बिनीको सहज जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरूद्ध ८ विकेटको सहज जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनीले आफ्नो अपराजित यात्रालाई कायम राख्दै पोखरालाई ८ विकेटले हराएको हो।

पोखराले प्रस्तुत गरेको ९८ रनको लक्ष्य लुम्बिनीले २ विकेटको क्षतिमा पूरा गर्‍यो। जारी संस्करणमा अहिलेसम्म लुम्बिनी अपराजित छ। उसले तीन खेलमध्ये दुईमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ।

पोखरा भने जितविहीन छ। उसले तीन खेल खेल्दा जित निकाल्न सफल हुन सकेको छैन।

दोस्रो संस्करणको च्याम्पियन रहेको लुम्बिनीको धारिलो बलिङसामु पोखराका ब्याटरहरू निरीह देखिए। ओपनिङमा उत्रिएका अर्जुन कुमाल शून्य रनमा आउट भए।

त्यस्तै कप्तान कुशल भुर्तेलले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। २० बलको सामना गरेका उनी १४ रन बनाएर आउट भए। पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रनको योगदान दिए। शाकिख अल हसनले ३ रन बनाउँदा मेहदी हसनले १३ रन जोडे।

निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पोखराले ९७ रनको झिनो योगफल खडा गर्‍यो।

लुम्बिनीका लागि रुबेन ट्रम्पल्यामेनले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले १-१ विकेट लिए।

९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीका लागि कप्तान रोहितले अविजित ४७ रन बनाए। उनले तीन चौका र तीन छक्का प्रहार गरे। त्यस्तै निरोशन डिकवेला पनि २७ रन बनाएर नटआउट रहे।

ओपनिङका लागि आएका आशिफ शेख ७ रन बनाएर रन आउट भए भने डी आरसी सर्ट १३ रन बनाएर आउट भए।

पोखराका लागि विपिन खत्रीले १ विकेट लिए।

यो जितसँगै लुम्बिनी ५ अंकसहित अंकतालिकाको शीर्षमा पुगेको छ भने पोखरा तालिकाको अन्त्यमा रहेको छ।

प्रकाशित: १७ कार्तिक २०८३ २०:१४ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast