काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो। उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे।
लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले १/१ विकेट लिए।
जारी संस्करणमा अहिलेसम्म लुम्बिनी लायन्स अपराजित छ। उसले दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ।
पोखरा भने जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख पुरस्कार प्राप्त गर्नेछ।



