काठमाडौँ- आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
मंगलबारको पहिलो खेलमा विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो।
एनपीएलको यस खेलमा चार अर्धशतक प्रहार भए। चौथो विकेटका लागि विशाल सुस्लिङ र सैफ हसनले ७६ रनको साझेदारी गर्दै जनकपुरको इनिङ्स उकासेका थिए।
३० बलमा २ चौका र ३ छक्काको मद्दतमा ४३ रन बनाएका विशाल एंगेलो म्याथुजको बलमा बसिर अहमदबाट क्याच आउट भए।
पाँचौँ विकेटका लागि सैफ हसन र जिम्मी निसमले ५६ रनको साझेदारी गर्दै जनकपुरलाई जिततर्फ अघि बढाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
निसमले १५ बलमा ३ छक्काको मद्दतमा २७ रन बनाए। उनलाई रुपेश सिंहले क्याच आउट गराएपछि विराटनगर खेलमा फर्किएको थियो।
जनकपुरका ओपनर मोइन अली १० रनमा आउट भए भने तृतराज दास ६ र अनिल शाह शून्य रनमै पेभेलियन फर्किए।
विराटनगरका लागि आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए। एंगेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
विराटनगरका तीन ब्याटरले अर्धशतक पूरा गरे। एनपीएलको एउटै इनिङ्समा तीन ब्याटरले अर्धशतक बनाएको यो पहिलो खेल हो।
इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाए। आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन जोडे। शुभम रन्जाने ७ रनमा अविजित रहे।
त्यस्तै, लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। उनलाई राहुल यादवको बलमा ललित राजवंशीले क्याच आउट गराए। एनपीएलमा दुई अर्धशतक बनाउने लोकेश पहिलो खेलाडी बनेका छन्।
यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली र दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका थिए। जारी एनपीएलमा अहिलेसम्म आठ अर्धशतक बनेका छन्।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।



