पर्यटक आगमनको कीर्तिमान कायम होला त?

एक महिनामा भित्रिए एक लाख ३२ हजार आठ सय १४

हिमाल प्रेस १७ कार्तिक २०८३ ९:१८ | Tuesday, November 3, 2026
8
SHARES
पर्यटक आगमनको कीर्तिमान कायम होला त?

काठमाडौँ- नेपालमा विदेशी पर्यटक आगमनले गति लिएको छ। सन् २०२६ को पहिलो १० महिनामा नौ लाख ९८ हजार सात सय ३४ जना विदेशी पर्यटक नेपाल आएका छन्। अब वर्षका बाँकी दुई महिनामा एक लाख ९८ हजार चार सय ५७ जना पर्यटक भित्रिए सन् २०१९ मा कायम भएको अहिलेसम्मकै उच्च आगमनको कीर्तिमान तोडिनेछ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख ३२ हजार आठ सय १४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो गत वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशत बढी हो। गत वर्ष अक्टोबरमा एक लाख २८ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका थिए।

पहिलो १० महिनाको पर्यटक आगमन गत वर्षको सोही अवधिको तुलनामा ५.८३ प्रतिशतले बढी हो। सन् २०२५ को पहिलो १० महिनामा नौ लाख ४३ हजार सात सय १६ जना पर्यटक नेपाल आएका थिए। यस वर्षको आगमनले गत वर्षको तुलनामा सुधार देखाए पनि महामारीअघिको कीर्तिमान तोड्न बाँकी दुई महिनाको आगमन महत्त्वपूर्ण हुनेछ।

कोरोना महामारीअघि सन् २०१९ मा नेपालमा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटक आएका थिए। उक्त संख्या पार गर्न यस वर्षको नोभेम्बर र डिसेम्बरमा एक लाख ९८ हजार चार सय ५७ जना पर्यटक नेपाल भित्रिनुपर्नेछ। अर्थात् बाँकी दुई महिनामा औसतमा प्रतिमहिना करिब ९९ हजार दुई सय २९ जना पर्यटक आउनुपर्ने देखिन्छ।

अक्टोबरमा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन्। यस महिनामा १७ हजार चार सय ३७ जना अमेरिकी पर्यटक नेपाल आएका छन्। गत वर्षको अक्टोबरमा १३ हजार दुई सय ८६ र यस वर्षको सेप्टेम्बरमा आठ हजार दुई सय ९९ जना अमेरिकी पर्यटक आएका थिए।

परम्परागत रूपमा नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार रहेको भारत भने यसपटक दोस्रो स्थानमा झरेको छ। अक्टोबरमा भारतबाट १२ हजार ९७ जना पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही महिनामा यो संख्या १७ हजार दुई सय ९८ थियो।

तेस्रो स्थानमा रहेको चीनबाट ११ हजार ६ सय ९५ जना पर्यटक आएका छन्। गत वर्ष अक्टोबरमा चीनबाट छ हजार सात सय ५५ जना पर्यटक नेपाल आएका थिए। यसरी एक वर्षमा चिनियाँ पर्यटकको संख्या झन्डै दोब्बर भएको छ।

नेपाल आउने पर्यटकका अन्य प्रमुख स्रोत बजारमा बेलायत र अस्ट्रेलिया छन्। अक्टोबरमा बेलायतबाट नौ हजार तीन सय ८५ र अस्ट्रेलियाबाट नौ हजार तीन सय ५२ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, जर्मनीबाट छ हजार एक सय १४, श्रीलंकाबाट पाँच हजार पाँच सय ६०, बंगलादेशबाट चार हजार आठ सय ९३, फ्रान्सबाट चार हजार एक सय ६४ र म्यानमारबाट तीन हजार २५ जना पर्यटक आएका छन्।

क्षेत्रगत तथ्यांकअनुसार दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ। विशेषगरी भारतीय पर्यटकको संख्या घट्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट आउने पर्यटक १७.२ प्रतिशतले घटेका छन्। गत वर्ष अक्टोबरमा सार्क मुलुकबाट २९ हजार ६० जना पर्यटक आएकामा यस वर्षको सोही महिनामा २४ हजार ५३ जना मात्रै आएका छन्।

यसको विपरीत युरोपबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अक्टोबरमा युरोपबाट ३९ हजार आठ सय ७७ जना पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा यो संख्या १५ हजार एक सय ४८ थियो।

अमेरिकी महादेशबाट आउने पर्यटकको संख्या पनि बढेर २१ हजार दुई सय ७० पुगेको छ। गत वर्ष अक्टोबरमा उक्त क्षेत्रबाट १६ हजार चार सय सातजना पर्यटक आएका थिए।

महिनागत तथ्याङ्कमा पनि पर्यटक आगमनको प्रवृत्ति मिश्रित देखिन्छ। गत वर्षको तुलनामा सन् २०२६ का जनवरी, फेब्रुअरी, मे, जुन, जुलाई, सेप्टेम्बर र अक्टोबरमा पर्यटक आगमन बढेको छ। मार्च, अप्रिल र अगस्टमा भने घटेको छ।

महामारीपछि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार देखिएको छ। सन् २०२४ मा ११ लाख ४७ हजार पाँच सय ६७ र सन् २०२५ मा ११ लाख ५८ हजार चार सय ५९ जना विदेशी पर्यटक नेपाल आएका थिए। सन् २०२६ को पहिलो १० महिनामा भएको आगमनले पनि पर्यटन क्षेत्रमा सुधारको संकेत गरेको छ।

महामारीअघिको कीर्तिमान तोड्न बाँकी दुई महिनामा मात्रै करिब दुई लाख पर्यटक भित्रिनुपर्ने भएकाले आगामी महिनाको आगमन निर्णायक हुनेछ। अक्टोबरसम्मको आगमन र बाँकी अवधिको पर्यटक आगमनले नै नेपालले सन् २०१९ को रेकर्ड पार गर्छ वा गर्दैन भन्ने तय गर्नेछ।

प्रकाशित: १७ कार्तिक २०८३ ९:१८ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast