धनुषामा दुई आकाशे पुल निर्माण सम्पन्न, छिट्टै सञ्चालनमा आउने

हिमाल प्रेस १५ कार्तिक २०८३ १४:४६ | Sunday, November 1, 2026
10
SHARES
धनुषामा दुई आकाशे पुल निर्माण सम्पन्न, छिट्टै सञ्चालनमा आउने

धनुषा- जनकपुरधाम-ढल्केवर ६ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ।

पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ।

सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब रु १० करोड ५० लाख लागत अनुमान गरिएको थियो। तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए।

उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ। उक्त पुल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि रु तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि रु तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि रु तीन करोड ४२ लाख विनियोजन गरिएको छ। तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो। पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन्।

सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर छ।

पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए।

प्रकाशित: १५ कार्तिक २०८३ १४:४६ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast