काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८ प्रतिशतले घटेको छ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मध्यसम्म नेपालले १६ अर्ब २३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता ३५ अर्ब १३ करोड रुपैयाँ थियो।
यस अवधिमा विदेशी लगानीका परियोजनाको संख्या भने ३५.७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन हजार ११ परियोजना रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर चार सय २२ पुगेका छन्।
रोजगारी सिर्जनासम्बन्धी प्रतिबद्धता भने उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ हजार आठ सय १४ जनालाई रोजगारी दिने प्रतिबद्धता आएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर पाँच हजार एक सय २९ मा सीमित भएको छ। यो ८४.८ प्रतिशतको गिरावट हो।
तथ्यांकले समीक्षा अवधिमा विदेशी लगानीका परियोजनाको संख्या बढे पनि तिनको कुल लगानी रकम र प्रतिबद्ध रोजगारीको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै कम रहेको देखाउँछ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार सय २२ परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा तीन सय ११ परियोजनाले विदेशी लगानी ल्याउन अनुमति मागेका थिए। चालु आर्थिक वर्षमा दर्ता भएका परियोजनाले पाँच हजार एक २९ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानी ल्याउन अनुमति माग्ने परियोजनाले प्रतिबद्धता जनाएको ३३ हजार ८१४ रोजगारीभन्दा निकै कम हो।
क्षेत्रगत तथ्यांकअनुसार समीक्षा अवधिमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै परियोजना दर्ता भएका छन्। यस क्षेत्रमा दुई सय ५२ परियोजना दर्ता भएका छन्। तर ती परियोजनाको कुल लगानी प्रतिबद्धता ९२ करोड ८३ लाख ७० हजार रुपैयाँ मात्रै छ। यसले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अधिकांश विदेशी लगानी तुलनात्मक रूपमा सानो पुँजीका परियोजनामा केन्द्रित रहेको देखाउँछ।
परियोजनाको संख्याका आधारमा पर्यटन क्षेत्र दोस्रो स्थानमा छ। यस क्षेत्रमा एक सय आठ परियोजनाका लागि ६ अर्ब आठ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। कुल विदेशी लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रको हिस्सा करिब ३७.५ प्रतिशत छ। यस हिसाबले कुल प्रतिबद्ध लगानीको सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ।
सेवा क्षेत्रमा ३३ परियोजनाका लागि तीन अर्ब ५८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। त्यसैगरी उत्पादनमूलक क्षेत्रमा २५ परियोजनाका लागि एक अर्ब ६१ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।
ऊर्जा क्षेत्रमा दुई परियोजनाका लागि चार अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। परियोजनाको संख्या निकै कम भए पनि लगानी रकमका आधारमा ऊर्जा क्षेत्र दोस्रो ठूलो क्षेत्र बनेको छ। कृषि तथा वनजन्य उद्योगमा दुई परियोजनाका लागि चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
समीक्षा अवधिमा खानी तथा पूर्वाधार क्षेत्रमा भने कुनै पनि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छैन।
पछिल्लो महिनाको तथ्यांकले त्रैमासको अन्त्यतिर पनि लगानी प्रतिबद्धता उत्साहजनक रहेको देखाउँछ। असोजमा मात्रै ९४ परियोजनाका लागि पाँच अर्ब १० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। ती परियोजनाले एक हजार एक सय ६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।
यसको तुलनामा गत आर्थिक वर्षको असोजमा ७५ परियोजनाका लागि दुई अर्ब चार करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको थियो।
प्रतिबद्धता गरिएको विदेशी लगानीको सानो हिस्सा मात्रै वास्तविक लगानीका रूपमा भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विदेशी लगानी प्रतिबद्धता करिब ६४ अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो। सोही अवधिमा वास्तविक रूपमा भित्रिएको विदेशी लगानी १२ अर्ब दुई करोड रुपैयाँ मात्रै थियो।



