दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा

हिमाल प्रेस ७ मंसिर २०७९ १९:०५
16
SHARES
दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा

सुरुंगा– ०७०सालबाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक संघीय संसद्‍मा निर्वाचित भए। दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित शर्माले यस पटक भने नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन्।

शर्मा ०७० सालमा भएको संविधानसभा निर्वाचनमा एमाले नेता रविन कोइराला र ०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए।

दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेका हु्न। झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका स्थायी कमिटीसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टंक महतले जानकारी दिए। शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ।

यस्तो छ शर्माको राजनीतिक यात्रा

पर्शुराम र सावित्री शर्माका कान्छा छोराका रूपमा ०२७ साल पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो। ०३७ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै अध्यक्षसमेत भए। हाल उनी नेपाली कांग्रेसको महामन्त्री छन्।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी राजनीतिक विश्लेषक एवम् साहित्यकारका रूपमा पनि परिचित छन्। शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन्।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका छन्। पार्टीको १४ औँ महाधिवेशनबाट उनी महामन्त्रीमा निर्वाचित भएका हुन्। सामान्य परिवारमा जन्मिएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए।

नेविसंघ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्मा नेविसंघ भद्रपुर क्याम्पसको सभापति र १२ औँ महाधिवेशनबाट नेविसंघ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढेका थिए।

कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजय व्यहवरेका थिए। तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए।

०७० सालको संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी शर्मा त्यसबेला एमाले नेता कोइरालासँग पराजित भए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका कार्कीसँग पराजित शर्माले यस पटक एमालेका पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरे। शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =