भाषण होइन परिणाम खोज्दै गोरखावासी, गृहमन्त्री गुरुङसमक्ष राखे विकासका मुद्दा

हिमाल प्रेस १५ कार्तिक २०८३ ११:०० | Sunday, November 1, 2026
6
SHARES
भाषण होइन परिणाम खोज्दै गोरखावासी, गृहमन्त्री गुरुङसमक्ष राखे विकासका मुद्दा

गोरखा- गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले जिल्लाको विकासमा देखिएका समस्या समाधानका लागि सरकारसँग योजना र परिणाममुखी कामको अपेक्षा गरेका छन्।

गृहमन्त्री सुदन गुरुङसँगको अन्तरक्रियामा उनीहरूले पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र उद्योगव्यवसायको विस्तारलाई प्राथमिकतामा राख्न माग गरेका हुन्।

जिल्लामा पर्याप्त पर्यटकीय सम्भावना र स्थानीय स्रोतसाधन हुँदाहुँदै पनि त्यसको उपयोग हुन नसकेको सहभागीहरूको गुनासो थियो। पूर्वाधार विकासमा गोरखा पछाडि परेको उल्लेख गर्दै उनीहरूले सडक, पुललगायत आवश्यक संरचनाको निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

कृषि क्षेत्रका समस्या पनि अन्तरक्रियामा प्रमुखताका साथ उठे। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजले बजार र उचित मूल्य नपाउने तर बाहिरबाट आयातित उत्पादनले बजार ओगट्ने अवस्थाप्रति सहभागीहरूले असन्तुष्टि जनाए।

नेपाली किसानको उत्पादनलाई बजारमा प्राथमिकता दिने व्यवस्था मिलाउन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न उनीहरूले सरकारसँग माग गरे।

त्यस्तै, जिल्लामा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका कठिनाइ, लगानीको वातावरण र स्थानीय स्तरमा रोजगारी सिर्जनाका विषयमा पनि छलफल भएको थियो।

गोरखामा उपलब्ध सम्भावनालाई आर्थिक गतिविधिसँग जोड्न सके जिल्लामै रोजगारीका अवसर विस्तार गर्न सकिने सहभागीहरूको भनाइ थियो।

सहभागीहरूले जिल्लाको विकासका विषयमा पटकपटक आश्वासन आउने गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसपटक कामको परिणाम देखिनुपर्नेमा जोड दिए। उनीहरूले गोरखाको विकासलाई भाषण र प्रतिबद्धतामा सीमित नराखी योजनाबद्ध रूपमा कार्यान्वयन गर्न आग्रह गरे।

सुझाव तथा गुनासा सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाए। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए।

यसैबीच, केही साताअघि बुढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएको विषयले पनि अन्तरक्रियामा चर्चा पायो। विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति सहभागीहरूले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ ११:०० | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast