काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक शिक्षा क्षेत्रको समयसापेक्ष आमूल रूपान्तरणका लागि वर्तमान सरकारलगायत सबै सरोकारवालाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
आफूले अध्ययन गरेको गोरखास्थित अमर ज्योति जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समाजद्वारा प्रकाशित स्मारिकाको लोकार्पण कार्यक्रममा बोल्दै डा.भट्टराईले विद्यालय शिक्षाको महत्त्व र यसको सामाजिक भूमिकाबारे आफ्नो धारणा राखेका हुन्।
कार्यक्रममा पुराना सहपाठीहरूसँगको पुनर्मिलनका साथै विद्यालय जीवनका स्मरणहरू साटासाट गरिएको थियो। त्यस अवसरमा सार्वजनिक शिक्षा, विद्यालयको भूमिका र शिक्षाको गुणस्तर सुधारका विषयमा गहन बौद्धिक विमर्शसमेत भएको थियो।
आफ्नो जीवन अनुभव स्मरण गर्दै भट्टराईले विद्यालय शिक्षाको सबैभन्दा महत्वपूर्ण योगदान नैतिकवान, दक्ष र जिम्मेवार नागरिक उत्पादनका लागि आधार तयार गर्नु रहेको बताए।
विद्यालय शिक्षा केवल ज्ञान र सीप आर्जन गर्ने माध्यम मात्र नभई व्यक्तिको नैतिकता, चरित्र र सामाजिक उत्तरदायित्व विकास गर्ने महत्वपूर्ण आधार भएको उनको भनाइ थियो।
उनले बदलिँदो समय, आवश्यकता र चुनौतीअनुसार सार्वजनिक शिक्षा प्रणालीलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सरकार, शैक्षिक संस्था, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
समाजद्वारा प्रकाशित स्मारिकाको लोकार्पनसँगै सम्पन्न उक्त कार्यक्रमले पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई पुनः ताजा बनाउनुका साथै सार्वजनिक शिक्षा सुधार र रूपान्तरणबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको थियो।



