गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न के गर्दैछ सरकार?

हिमाल प्रेस १३ कार्तिक २०८३ ९:०४ | Friday, October 30, 2026
6
SHARES
गोविन्द केसीसँगको सहमति कार्यान्वयन गर्न के गर्दैछ सरकार?

काठमाडौँ- सरकारले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत तथा संस्थागत सुधारका कामलाई निरन्तरता दिँदै प्रा.डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनका लागि कार्यदलहरू गठन गरी काम अघि बढाएको जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सा शिक्षा सुधारका लागि केसीले विभिन्न समयमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल सरकार र उनीबीच भएका सहमतिहरू कार्यान्वयनबाट चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिएको छ।

सरकारका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी हुनु, चिकित्सा शिक्षा आयोग स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन, शैक्षिक संस्थाको तहगत तथा विषयगत सिट निर्धारण र छात्रवृत्तिमा विद्यार्थी छनोट तथा व्यवस्थापन चिकित्सा शिक्षा सुधारका प्रमुख उपलब्धि हुन्।

त्यस्तै, चिकित्सा शिक्षासम्बन्धी प्राविधिक मापदण्ड निर्माण तथा कार्यान्वयन, शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रियामा पारदर्शिता र मापदण्डको व्यवस्था तथा काठमाडौँ उपत्यकाबाहिर चिकित्सा शिक्षाको विस्तारलाई पनि सरकारले महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भइसकेको छ। आवश्यक पूर्वाधारसहित चालु शैक्षिक वर्षदेखि चिकित्सा शिक्षाका विभिन्न विधामा पठनपाठन सुरु हुने तयारी छ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेश प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि शैक्षिक पूर्वाधार विकासको काम भइरहेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा त्यसअन्तर्गत बनेका नियमावली, कार्यविधि र मापदण्ड कार्यान्वयनबाट ठूलो संख्यामा विद्यार्थीले निःशुल्क तथा छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको पनि मन्त्रालयले जनाएको छ। यसले चिकित्सा शिक्षालाई थप समतामूलक र व्यवस्थित बनाउन सहयोग पुगेको सरकारको दाबी छ।

०८३ साउन ११ गते डा.केसीसँग भएको सहमतिका विषयलाई समेत सरकारले प्राथमिकतामा राखेको उल्लेख छ। उक्त सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदलहरू गठन भई क्रियाशील रहेको मन्त्रालयले जनाएको छ।

आगामी दिनमा चिकित्सा शिक्षा क्षेत्रमा आवश्यक नीतिगत तथा कार्यक्रमगत सुधार गर्दै सेवा प्रवाह प्रभावकारी बनाउने र शैक्षिक सुशासन कायम गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ९:०४ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast