प्रहरीको पोसाक खरिदमा अनियमितता छानबिन गर्न उपसमितिको कार्यतालिका तयार

हिमाल प्रेस १३ कार्तिक २०८३ ७:४८ | Friday, October 30, 2026
8
SHARES
प्रहरीको पोसाक खरिदमा अनियमितता छानबिन गर्न उपसमितिको कार्यतालिका तयार

काठमाडौँ- निर्वाचन प्रहरी (म्यादी) को पोसाक खरिदबारे अध्ययन गर्न गठित उपसमितिले समयसीमासहित अध्ययनको कार्यसूचीलाई अन्तिमरूप दिएको छ।

सिंहदरबारमा बिहीबार भएको उपसमितिको बैठकले यही कात्तिकसम्म विभिन्न दस्तावेजको अध्ययन गर्ने निर्णय गरेको हो।

आगामी मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षको बयान र अन्तर्वार्ता तथा विषयविज्ञसँग छलफल गर्ने तथा अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याउने बारेमा बैठकले सहमति जुटाएको उपसमितिका संयोजक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जानकारी दिए।

उपसमितिले यसअघि अध्ययनको कार्यअवधि र कार्यविधि तोकिसकेको छ। उपसमितिलाई दुई महिनाको समयावधि दिइएको छ।

आगामी मंसिर २० गतेसम्म उपसमितिले प्रतिवेदन बुझाइसक्नुपर्नेछ। उपसमितिमा सांसदहरू खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाहीलगायत छन्।

रास्वपा सांसद सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्दै छानबिनको माग गर्दै आएका थिए।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको गत असोज १६ गतेको बैठकले प्रहरीको पोसाक खरिद सम्बन्धमा अध्ययन गर्न झाको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो।

प्रकाशित: १३ कार्तिक २०८३ ७:४८ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast