शुक्लाफाँटामा १३ दिनमा आए ६०० पर्यटक

हिमाल प्रेस १० कार्तिक २०८३ १४:३४ | Tuesday, October 27, 2026
8
SHARES
शुक्लाफाँटामा १३ दिनमा आए ६०० पर्यटक

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको छ।

मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए।

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित छ। त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ।

दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ।

गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए।

‘बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो। असोजको अन्तिम साता मात्रै खुला गरिएको हो’, चौधरीले भने,‘चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ।’

निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताए।

आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति रु १००, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु ७५० र सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क लिइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।

‘काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्’, चौधरीले भने, ‘निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन्।’

प्रकाशित: १० कार्तिक २०८३ १४:३४ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast