काठमाडौँ- दसैँ बिदापछि सोमबार खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक अर्थात् ०.१६ प्रतिशतले घटेर २,६२९.८२ अंकमा बन्द भएको छ।
कारोबार अवधिभर उतारचढाव देखिएको बजारमा बिहान नेप्से परिसूचक बढेर २,६३७.५३ अंकको उच्च विन्दुमा पुगेको थियो।
तर दिउँसो बजारमा गिरावट आएपछि परिसूचक तल झरेको हो। कारोबारका क्रममा २,६२१.६१ अंकको न्यून विन्दुमा पुगेको बजारले त्यसपछि केही सुधार गरे पनि अन्ततः रातामै बन्द भयो।
सोमबार बजारमा समग्रमा गिरावट देखिएको छ। कारोबार भएका कम्पनीमध्ये १७१ वटाको सेयर मूल्य घटेको छ भने ९९ वटाको मूल्य बढेको छ।
६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। दिनभर कुल ४ अर्ब रुपैयाँको कारोबार भएको छ। यस क्रममा १ करोड ३ लाख ४० हजार कित्ता सेयर ३८ हजार ७८८ पटकको कारोबारमार्फत किनबेच भएका छन्।
बेनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ५.८१ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य ५.०७ प्रतिशतले बढेको छ।
चिरख्वा खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.५७ प्रतिशत र १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ५.९१ प्रतिशतले घटेको छ।
नेप्सेमा कारोबार हुने १३ उपसमूहमध्ये ९ वटाको परिसूचक घटेर बन्द भएको छ। विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ।
त्यस्तै, निर्जीवन बिमा उपसमूहको परिसूचक ०.६४ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ।
यसैबीच, व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.११ प्रतिशतले बढेको छ।



