नेपाल क्लियरिङ हाउसले १५ प्रतिशत बोनस सेयर दिने

हिमाल प्रेस २८ असोज २०८३ १६:२६ | Wednesday, October 14, 2026
नेपाल क्लियरिङ हाउसले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्दै सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको वार्षिक साधारणसभा २०८३ असोज २८ गते (१४ अक्टोबर २०२६) काठमाडौंमा सम्पन्न भएको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्नेछ।

कम्पनीका अनुसार पुँजी वृद्धि भएपछि राष्ट्रिय भुक्तानी प्रणाली, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) तथा जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन लगानी गरिनेछ। सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नति पनि गरिने कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३.८२ करोड कारोबार राफसाफ भएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा राफसाफ भएका कारोबारको संख्या र रकमका आधारमा १३ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी सात प्रतिशतले बढेको छ। कम्पनीको खुद नाफा ४१ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत कम हो।

यसैगरी, साधारणसभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधि र सफ्टवेयरको अनुसन्धान, विकास तथा जडानलगायतका कार्य गर्ने उद्देश्यसहित छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई दिएको छ। प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास र जडानसम्बन्धी काम गर्नेछ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीहरूबाट क्रमशः एक एक जना तथा एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व रहेको छ। कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।

एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, ईएफटी कार्ड स्विच, नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत एनपीएस एनसीएस र आरपीएस, एनपीआई तथा एनपीआईएक्स प्रणाली सञ्चालन गर्दै आएको छ। त्यस्तै, कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेपालपे क्यूआर र नेपालपे कार्डलगायतका डिजिटल भुक्तानी उपकरणसमेत सञ्चालनमा छन्।

हाल नेपाल राष्ट्र बैंकसहित ५३ सदस्य बैंक तथा वित्तीय संस्था र १५० भन्दा बढी गैरबैंकिङ संस्थाहरू अप्रत्यक्ष तथा प्राविधिक सदस्यका रूपमा एनसीएचएलसँग आबद्ध छन्।

कम्पनीसम्बन्धी थप जानकारी एनसीएचएलको आधिकारिक वेबसाइट [www.nchl.com.np](http://www.nchl.com.np) मा उपलब्ध छ।

प्रकाशित: २८ असोज २०८३ १६:२६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast