फ्रान्समा रोकिएन सरकारविरोधी प्रदर्शन

हिमाल प्रेस ८ कार्तिक २०८३ १६:२४ | Sunday, October 25, 2026
10
SHARES
फ्रान्समा रोकिएन सरकारविरोधी प्रदर्शन फ्रान्सको राजधानी पेरिसमा शनिबार आयोजित प्रदर्शनमा सहभागी। तस्बिर : एएफपी/रासस

फ्रान्समा देशलाई स्तब्ध पार्ने गरी व्यापक दङ्गा भड्किएको एक सातापछि फेरि चार लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका छन्। थप अशान्ति रोक्ने प्रयासस्वरूप राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारले प्रहरी परिचालन बढाएको छ।

फ्रान्सेली अधिकारीहरूका अनुसार शनिबार देशभर भएका अधिकांश शान्तिपूर्ण प्रदर्शनमा चार लाख १० हजार मानिस सहभागी भएका थिए। तीमध्ये एक लाख १० हजार पेरिसमा भेला भएका थिए।

यो सङ्ख्या अक्टोबर १७ मा भएको प्रदर्शनमा सहभागी मानिसको अनुमानित सङ्ख्याभन्दा केही कम हो। त्यस दिन महँगी र शिक्षाको कमजोर अवस्थाविरुद्ध सुरु भएको प्रदर्शन हिंसा तथा लुटपाटमा परिणत भएको थियो। सरकारी अधिकारीहरूले त्यस दिन पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको अनुमान गरेका थिए। तर श्रमिक संघहरूले भने झन्डै आठ लाख मानिस सहभागी भएको बताएका थिए।

शनिबार अपराह्नसम्म केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप सुरु भएको थियो। पेरिसमा भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। ‘ब्ल्याक ब्लक’ नामले चिनिने कालो पहिरन र मुखुण्डो लगाएका उपद्रवीहरूले प्रहरीमाथि वस्तुहरू प्रहार गरेका थिए।

लियोन, मार्से र बोर्डोमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए। यद्यपि गत सप्ताहन्तको तुलनामा यसपटक हिंसाको स्तर कम थियो।

युरोपका अन्य सहरमा पनि हिंसाका घटना भएका थिए। रोयटर्सका अनुसार बार्सिलोनामा उपद्रवीहरूले आगजनी र पसलहरूमा लुटपाट गरेपछि १०० जनालाई पक्राउ गरिएको थियो।

टुरिनमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रयोग गरेको थियो। रोम र इटालीका उत्तरी क्षेत्रका सहरमा पनि तनाव उच्च थियो। गत सप्ताहन्तको हिंसा दोहोरिन नदिन पसलका सिसामा सुरक्षा प्रबन्ध गरिएको थियो भने सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

इटालीका गृहमन्त्री माटेओ पियान्तेदोसीले पछिल्लो हिंसाका कथित मुख्य योजनाकार मानिएका ३० वर्षीय एक व्यक्तिलाई मिलानमा प्रहरीले पक्राउ गरेको बताएका छन्।

फ्रान्सका गृहमन्त्री लोरेन नुनेजले स्थानीय समयअनुसार शनिबार साँझ ७ः४५ बजेसम्म प्रहरीले एक हजार जनालाई पक्राउ गरेको बताएका छन्। गत साता यही समयसम्म ३८५ जना पक्राउ परेका थिए। गत शनिबार दुई हजार ४०० जना पक्राउ परेका थिए भने आइतबार पनि सयौँलाई नियन्त्रणमा लिइएको थियो।

नुनेजका अनुसार प्रदर्शन सकिएपछि पनि क्षति पुर्‍याउने, लुटपाट गर्ने वा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयासमा संलग्न ‘मुख्यतः कालो पहिरन लगाएका मुखुण्डोधारी व्यक्तिहरू’ बाट प्रहरीले फेरि अत्यधिक हिंसाको सामना गर्नुपरेको थियो।

शनिबार साँझ प्रदर्शन सकिँदासमेत पेरिसमा करिब ५०० जना सुरक्षाकर्मीसँग आमनेसामने भइरहेका थिए।

‘दिन सकिएको छैन, अझै धेरै समय बाँकी छ’, नुनेजले भने, ‘आज साँझ निकै अबेरसम्म सुरक्षाकर्मी परिचालन भइरहनेछन्। अहिलेको मुख्य चुनौती समूहहरू तितरबितर भएर सहरका केन्द्रमा पुग्ने र लुटपाट गर्ने अवस्थालाई रोक्नु हो।’

मार्सेका मेयर बेनोआ पायानले अधिकांश प्रदर्शन शान्तिपूर्ण भएको भन्दै स्वागत गरेका थिए। उनले भने, ‘आजको अवस्था गत साताको जस्तो भएन। मार्सेका जनताका लागि म खुसी छु।’

तर रात परेपछि सहरका विभिन्न क्षेत्रमा केही समूहले लुटपाटको प्रयास गरिरहेको उनले बताए। उनले मानिसहरूलाई सतर्क रहन र सुरक्षाकर्मीलाई आफ्नो काम गर्न सहयोग गर्न आग्रह गरे।

फ्रान्सेली सरकारले गत सप्ताहन्तको तुलनामा यसपटक सडकमा करिब २० प्रतिशत बढी प्रहरी परिचालन गरेको छ। उनीहरूलाई आतङ्कवादविरोधी अभियान र अन्य विशेष कार्यमा खटाइने विशेष सुरक्षा टोलीले पनि सहयोग गरेका थिए। संवेदनशील सरकारी भवन र यातायात केन्द्रको सुरक्षा गर्न सैनिकसमेत परिचालन गरिएको थियो।

शुक्रबार पेरिसको पश्चिममा पर्ने त्राप सहरमा एक बन्दुकधारीले एक जनाको हत्या र पाँच जनालाई घाइते बनाएपछि फ्रान्समा तनाव थप बढेको थियो। राष्ट्रपति म्याक्रोंले उक्त आक्रमण जातीय पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए।

गत सप्ताहन्तको जस्तो हिंसा दोहोरिन नदिन लियोन र निसलगायत ठूला सहरले प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्। तर प्रतिबन्धका बाबजुद लियोनमा ठूलो सङ्ख्यामा मानिस भेला भएका थिए, जसका कारण सुरक्षाकर्मीसँग झडप भएको थियो।

पेरिस र मार्सेमा भने श्रमिक सङ्घहरूको नेतृत्वमा प्रदर्शन गर्न अनुमति दिइएको थियो। अन्य अभियानकर्मी समूहको तुलनामा श्रमिक सङ्घले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सक्ने विश्वास अधिकारीहरूले गरेका थिए। यद्यपि प्रदर्शनकारीलाई व्यापारिक प्रतिष्ठान र सार्वजनिक भवनबाट टाढा राख्न दुवै सहरको बाहिरी क्षेत्रमा जुलुसको मार्ग तोकिएको थियो।

फ्रान्सको सामान्य अभ्यासको तुलनामा यो व्यवस्था निकै कडा हो। त्यहाँ संविधानले प्रदर्शन गर्न पाउने अधिकारको संरक्षण गरेको छ। तर सार्वजनिक व्यवस्थामा गम्भीर खतरा उत्पन्न हुने अवस्था देखिएमा सरकारले जुलुसमा प्रतिबन्ध लगाउन सक्छ।

नुनेजका अनुसार कट्टर वामपन्थी समूहहरूले सामाजिक सञ्जालमा हिंसा भड्काउने र शनिबार पनि सार्वजनिक भवनलाई निशाना बनाउने चेतावनी दिएका थुप्रै सन्देश अधिकारीहरूले फेला पारेका थिए। यद्यपि शनिबार साँझसम्म प्रहरीले त्यस्ता प्रयास सफल हुन नदिएको उनले बताए।

केही साताअघि उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कमजोर शैक्षिक अवस्थाको विरोधमा विद्यालय परिसर अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका थिए। त्यसपछि आन्दोलन महँगी, विशेषगरी पेट्रोलको मूल्यवृद्धि, र राष्ट्रपति म्याक्रोंको शासनप्रतिको व्यापक असन्तुष्टिमा रूपान्तरण भएको छ।

मध्य फ्रान्सको अर्लेआँ सहरमा शनिबार दक्षिणपन्थी दल ‘रासम्बलमाँ नास्योनाल’ (राष्ट्रिय एकता) को पार्टी महाधिवेशन सुरक्षित रूपमा सम्पन्न गराउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। वामपन्थी समूहहरूले आह्वान गरेको प्रतिप्रदर्शनलाई पनि अनुमति दिइएको थियो। तर झडप हुन नदिन त्यसलाई दलको कार्यक्रमस्थलबाट केही किलोमिटर टाढा राखिएको थियो।

व्यापारिक प्रतिष्ठान र सार्वजनिक भवन बन्द गर्ने तथा सार्वजनिक यातायातसमेत रोक्ने व्यापक आदेशका कारण दुवै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएका थिए।

शनिबार परिचालन गरिएका ७० हजार सुरक्षाकर्मीको सङ्ख्या सन् २०२३ मा प्रहरीको गोलीबाट एक किशोरको मृत्यु भएपछि भड्किएको दङ्गा नियन्त्रण गर्न परिचालन गरिएका ४५ हजार प्रहरीभन्दा निकै बढी हो।

यसअघि सन् २०१८ मा ‘यल्लो भेस्ट’ अर्थात् पहेँलो ज्याकेट आन्दोलन उत्कर्षमा पुगेका बेला सरकारले करिब ९० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १६:२४ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast