काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिमा लामो समयदेखि चल्दै आएको ‘भारतको विरोध नै राष्ट्रवाद’ भाष्य अब बदलिनुपर्ने बताएका छन्।
अर्थमन्त्री डा.वाग्लेले भारतसँगको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि त्यसलाई विरोध र अविश्वासको मात्र कोणबाट हेर्नुभन्दा आपसी निकटतालाई आर्थिक समृद्धिको अवसरमा बदल्नुपर्ने धारणा राखे।
भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित एनडिटिभी वर्ल्ड समिट २०२६ को विशेष सत्र ‘प्रोक्सिमिटी टु प्रस्पेरिटी : दी इन्डिया-नेपाल अपरच्युनिटी’ मा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भारतसँग सुमधुर र व्यावहारिक सम्बन्ध चाहेको बताए।
‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ। कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका (जोइन्ट एट द हिप) छौं,’ उनले भने, ‘नेपाल र भारतबीचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग न नेपालाको छ न त भारतको नै।’
‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो। तर, त्यो युग अब सकिएको छ,’ उनले थपे, ‘अहिलेको पुस्ताको ध्यान आर्थिक वृद्धि, सुशासन र छिमेकीसँगको बलियो सम्बन्धमा छ।’ उनले एक प्रसंगमा प्रधानमन्त्री शाहले सन् २०२६ को अन्त्यसम्ममा भारत भ्रमण गरिसक्ने संकेत गर्दै त्यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरे।
व्यावहारिक राष्ट्रवादको मापदण्ड
नेपालको राजनीतिमा भारतसँगको सम्बन्ध लामो समयदेखि राष्ट्रवादको बहससँग जोडिँदै आएको छ। कतिपय शक्तिले भारतको आलोचनालाई राष्ट्रिय स्वाभिमानको अभिव्यक्ति ठान्दै आएका छन्। तर, वाग्लेको अभिव्यक्तिले बदलिँदो क्षेत्रीय र विश्व राजनीतिक परिवेशमा कुनै देशको विरोध गर्नुलाई मात्रै राष्ट्रवाद मान्ने सोचभन्दा राष्ट्रिय हितको रक्षा, आर्थिक विकास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राख्नुपर्ने सन्देश दिन्छ।
यसको अर्थ भारतसँगका सबै असहमति बिर्सनु वा उसका नीतिमाथि प्रश्न उठाउन छाड्नु होइन। बरु सीमा विवाद, व्यापार निर्भरता, असमानता र राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट अडान राख्दै पनि संवाद र सहकार्यलाई अघि बढाउनु परिपक्व कूटनीतिको बाटो हो।

छिमेकीको विरोधबाट राजनीतिक लाभ खोज्नुभन्दा सम्बन्धलाई नेपालको हितमा उपयोग गर्न सक्नु नै प्रभावकारी राष्ट्रवादको मापदण्ड हुनुपर्छ भन्ने आसयमा उनले यस्तो धारणा राखेको बुझ्न सकिन्छ। नेपाल र भारतबीचको सम्बन्ध केवल दुई सरकारबीचको कूटनीतिक सम्पर्कमा सीमित छैन। खुला सीमा, पारिवारिक तथा सांस्कृतिक सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा र रोजगारीले दुई देशलाई गहिरोसँग जोडेको छ।
यस्तो सम्बन्धमा समस्या आउँदा त्यसको असर नेपालमा प्रत्यक्ष पर्छ। भारतका नागरिक र सरकारले त्यो बुझेको छ तर नेपाली नेताहरूले नै देशको विषय भन्दा आफ्ना विषयमा बढी जोड गर्दा समस्या उत्पन्न भएको हो। यसलाई चिरेर वर्तमान सरकार अघि बढ्ने संकेत उनले दिएका छन्। उनले सम्बन्धलाई भावनात्मक उत्तेजनाभन्दा व्यावहारिक हितका आधारमा अघि बढाउनु नेपालको आवश्यकता रहेको पनि बताए।
विपद् सहयोग र जलवायु न्याय
अर्थमन्त्री वाग्लेले विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा नेपालमा अधिकले गरिरहेका हुन्छन् तर केही व्यक्तिले यसमा पनि षडयन्त्र मात्र देख्दा झन भारतको मन कुडिएको तथ्य देखिएको छ। सन् २०१५ को भूकम्पपछि केही घण्टामा नै उपलब्ध राहत र हालैको बाढी (रसुवा-भोटेकोशी) मा भारतले तत्काल सहायता पठाएको स्मरण पनि उनले त्यहाँ गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर आवश्यक सहयोगको प्रतिबद्धता जनाएको विषयमा जोड दिँदै नेपाल र भारतबीचकाे मित्रताकाे प्रशंसा मात्र गरेनन उनले भारतकाे खुला दिलबारे पनि बोले। सबै समस्या यही ठूलो छातिका बीच समाधान गर्दै अघि बढ्न पर्नेमा उनको जोड देखिन्छ।
‘भारत हर कठिन समयमा नेपालको साथमा रहेको छ,’ उनले भने। सम्मेलनमा उनले जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता मुलुकले ऋण लिनुपर्ने अवस्थामाथि पनि प्रश्न उठाए। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको आर्थिक भार नेपालले नै बोक्नुपरेको उनको तर्क थियो।
बाढीले क्षति पुर्याएका पुल, सडक, जलविद्युत् आयोजना र घर पुनर्निर्माण गर्न किन ऋण लिनुपर्ने भन्ने प्रश्न उठाउँदै उनले यसलाई अन्तर्राष्ट्रिय बहसमा लैजानुपर्ने बताए। हिमालय क्षेत्रमा हुने प्राकृतिक विपद्का असर सीमापारसम्म पुग्ने भएकाले नेपाल र भारतबीच पूर्वसूचना, विपद् व्यवस्थापन र पुनर्निर्माणमा सहकार्यको सम्भावना छ।
युवा आन्दोलन र बदलिँदो चेतना
वाग्लेले नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि धारणा राखे। स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको पुस्ता पुरानै राजनीतिक अभ्यास र यथास्थितिलाई सहजै स्वीकार गर्न तयार नभएको उनको विश्लेषण थियो।
उनले सडकको आक्रोशलाई लोकतान्त्रिक संस्थासँग जोडेर दीर्घकालीन परिवर्तनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। त्यसमा सचेत रहेर वर्तमान सरकारले काम गरिरहेको पनि उनले बताए। यसअघि बिहीबार उनले भारतीय विदेशमन्त्री एस जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न उठाएका थिए।
परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशबीच साना र लचिला समूह बनाएर सहकार्य गर्ने प्रवृत्तिबारे उनको चासो थियो। वाग्लेको अभिव्यक्तिलाई नेपालले आफ्नो छिमेक नीतिमा खोजिरहेको व्यावहारिकताको सन्दर्भमा हेर्न सकिन्छ। भारतसँगको सम्बन्धमा असहमति राख्नु र राष्ट्रिय हितका पक्षमा अडान लिनु स्वाभाविक हो। तर, भारतविरोधी अभिव्यक्तिलाई नै राष्ट्रवादको पर्याय बनाउने राजनीतिक अभ्यासबाट बाहिर निस्कनु पनि उत्तिकै आवश्यक छ।

राष्ट्रवादको वास्तविक परीक्षा छिमेकीलाई कति विरोध गरियो भन्नेमा होइन, आफ्ना नागरिकका लागि कति अवसर सिर्जना गरियो, राष्ट्रिय स्वार्थलाई कति सुरक्षित राखियो र सम्बन्धलाई देशको समृद्धिमा कति उपयोग गर्न सकियो भन्नेमा हुन्छ।
वाग्लेले भारतको मध्यम वर्गको आर्थिक अवस्था सुधार हुँदै जाँदा उसको क्रयशक्ति र विदेश भ्रमण गर्ने प्रवृत्ति पनि बढ्ने बताउँदै भनेका थिए,’नेपालले भारतको आर्थिक विस्तारबाट लाभ लिँदै आफ्ना पर्यटकीय गन्तव्यमा थप भारतीय पर्यटक आकर्षित गर्न सक्छ र वर्तमान सरकारले चाहेको पनि छ।’
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। पेट्रोलियम पदार्थको आपूर्ति, लगानी, पारवहन सुविधा र सीमापार ऊर्जा सहकार्यमा पनि भारतको महत्त्वपूर्ण भूमिका छ। दुवै देशबीच खुला सीमा र व्यापक जनस्तरको सम्बन्ध पनि छ। नेपाल र भारतबीच बेलावखतमा तनाव उत्पन्न पनि हुने गरेको छ । यसको कारण हो- व्यापार तथा पारवहन व्यवस्था, सीमा विवाद र सार्वभौमिकता तथा राष्ट्रिय पहिचानसँग जोडिएका राजनीतिक संवेदनशीलता।
यसैबीच मन्त्री बाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सामान्य भेट गर्न पाएका थिए। नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा सम्मेलनमा मोदीले सम्बोधन गरेका थिए । त्यही सम्मेलनको अवसरमा वाग्लेले छोटो भेटवार्ता गर्न पाएका हुन। उक्त सम्मेलनमा यस क्षेत्रका राजनीतिक नेता, अर्थशास्त्री, नीतिनिर्माता र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी हुँदै विश्व तथा क्षेत्रीय चुनौतीबारे छलफल गरेका हुन्।




