विजयादशमीले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ४ कार्तिक २०८३ ८:१९ | Wednesday, October 21, 2026
8
SHARES
विजयादशमीले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिन्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आज (कात्तिक ४ गते) विजयादशमीको उपलक्ष्यमा देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्।

उनले आआफ्नो क्षमताअनुसार विजयादशमी मनाउन र आपसमा सद्‌भाव, एकता, सम्मान र माया आपसमा साट्न आम नागरिकलाई अपिल गरेका छन्।

साथै उनले आजको दिनलाई देशमा व्याप्त भ्रष्टाचार र कुशासन हटाउने प्रण गर्ने दिन पनि ठानेका छन्।

उनले अगाडि लेखेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’

यस्तो छ प्रधानमन्त्रीको पूरा शुभकामना सन्देश

आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू

आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ।

यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

आज विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ।

विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।

यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिन्छ।

अन्त्यमा, आआफ्नो ठाउँबाट आआफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्‌भाव, एकता, सम्मान र माया आपसमा साटौँ।

जय दुर्गा भवानी !

 

प्रकाशित: ४ कार्तिक २०८३ ८:१९ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast