बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हिमाल प्रेस ३ कार्तिक २०८३ १२:१२ | Tuesday, October 20, 2026
8
SHARES
बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ।

बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भिड लागेको हो।

मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन्।

यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।तरहराकी निर्मला बस्नेतले दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताए। मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले जानकारी दिए।

Asian Paints
बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताए। महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उनी दङ्ग छन्। उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आएका छन्।

Nabil bank
एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो। समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ। त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ।

बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन्। भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ। पोथी उपलब्ध नभए अण्डा चढाइन्छ।

विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन्। बडादसैँका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ।

प्रकाशित: ३ कार्तिक २०८३ १२:१२ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast