चितवन– चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ। तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ।
केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक लाइट जडानको ठेक्का पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार चोरहरूले केबल काटेर लगेपछि सबै केबल फेर्नुपर्ने भएको छ ।
‘यस्ता केबल नेपालमा नपाइने र काटिएको केबल जोडेर पनि काम गर्न नसकिने हुन्छ,’ उनले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ ।’ केबल मगाएर जडान गर्न कम्तीमा एक महिना लाग्ने थापाले जानकारी दिए ।
नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास रोडका विभिन्न ६ प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ । पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएको छ ।
सवारी चाप बढी भएका र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गरिएको हो । ६ मिटरको आर्म भएका सात मिटर अग्ला भेहिकल पोल र पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ ।
गत वर्ष नै जडान गरिसक्नुपर्ने ट्राफिक लाइटको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो । सडक फराकिलो बनेपछि सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थापनमा सहजता हुने बताए ।
उनका अनुसार ट्राफिक लाइटको ब्याकअप र सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाटै हुनेछ । बत्तीको सञ्चालन तथा अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ । कुन चोकमा कति समयसम्म बत्ती बाल्ने भन्ने नियन्त्रण र नियमन पनि त्यहीँबाट हुनेछ ।
भरतपुर महानगरपालिकाका ६ वटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना तिराउँदै निर्माण कार्य अघि बढाइएको थियो । केबल चोरी भएपछि भने ट्राफिक लाइटको परीक्षण तथा सञ्चालनमा थप ढिलाइ हुने भएको छ ।




