काठमाडौँ छाड्ने यसपटक घटे, यातायात व्यवसायी महासंघ भन्छ : ११ लाखले आजसम्ममा छाड्छन्

हिमाल प्रेस १ कार्तिक २०८३ ६:४४ | Sunday, October 18, 2026
6
SHARES
काठमाडौँ छाड्ने यसपटक घटे, यातायात व्यवसायी महासंघ भन्छ : ११ लाखले आजसम्ममा छाड्छन्

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आजसम्ममा करिब ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दसैँ मनाउन भोलिसम्ममा १० देखि ११ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरिएको बताए ।

‘ यात्रु बाहिरिने मुख्य समय (पिक आवर) हो, तर पोहोर–परारको जस्तो मान्छे निस्किएका छैनन्,’ अध्यक्ष सिटौलाले भने, ‘ ठ्याक्कै ११ लाखको हाराहारीमा यात्रुहरू बाहिरिने हाम्रो अनुमान छ ।’

विगतका वर्षहरूको तुलनामा यो सङ्ख्या कम भएको सिटौलाको भनाइ छ । यात्रुको सङ्ख्या घट्नुमा मुख्य गरी सडकको दुरवस्था र मनोवैज्ञानिक त्रासलाई कारण मानिएको छ । बाढीपहिरोका कारण बाटोको अवस्था कस्तो छ र कहाँ के हुन्छ भन्ने डरले गर्दा धेरैले यात्रा गर्न चाहेका छैनन् ।

सिटौलाले भने, ‘मानिसहरू मनोवैज्ञानिक रूपमा पनि त्रासमा छन् । देशको समग्र अवस्था पनि त्यति राम्रो नभएकाले विगतका वर्षहरूमा जस्तो दसैँको उमङ्ग मानिसहरूमा देखिएको छैन ।’

प्रतिकूल अवस्था र बाटोको समस्याका बाबजुद पनि यातायात व्यवसायीहरूले यात्रुलाई व्यवस्थित रूपमा गन्तव्यसम्म पठाउने काम गरिरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार लामो दूरीका यात्रुहरू प्रायः गन्तव्यमा पुगिसकेका छन् । आज र भोलि विशेषगरी काठमाडौँ आसपासका जिल्लाहरू काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र रामेछापलगायतका छोटो र मध्यम दूरीका यात्रुहरू बाहिरिने क्रम रहेको अध्यक्ष सिटौलाले जानकारी दिए ।

काठमाडौँबाट यात्रु बाहिरिने क्रम बढेसँगै मुख्य सडकहरूमा सवारीसाधनको चाप बढेको छ । अहिले बीपी राजमार्ग, कान्ति लोकपथ र नागढुङ्गा–मुग्लिनलगायतका सडकहरू सहज रूपमा सञ्चालन भइरहेका छन् ।

सडकमा अवरोध नभए पनि एकै पटक धेरै सवारीसाधन बाहिरिँदा बीपी राजमार्ग, नागढुङ्गा–मुग्लिनलगायतका सडकखण्डमा लामो जाम हुने गरेको छ, जसले गर्दा यात्रुहरूले केही सास्ती खेप्नुपरेको छ ।

प्रकाशित: १ कार्तिक २०८३ ६:४४ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast