काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं. ३ ले शैक्षिक सत्र २०८२ मा एसईई र कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्मान गरेको छ। वडाले आयोजना गरेको बधाई, सम्मान तथा प्रोत्साहन कार्यक्रममा आधारभूत पौडी प्रशिक्षण २०८३ मा सहभागी प्रशिक्षार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा वडाध्यक्ष प्रेम थापाले विद्यार्थीलाई ठूलो मान्छे बन्ने लक्ष्य राख्नुभन्दा असल र राष्ट्रप्रेमी नागरिक बन्न प्रेरित गरे। कुनै पनि लक्ष्य हासिल गर्न धैर्य र निरन्तर मेहनत आवश्यक हुने उल्लेख गर्दै उनले भौतिक पूर्वाधार निर्माण मात्र विकास नभई मानिसको आन्तरिक क्षमताको अभिवृद्धि पनि वास्तविक विकास भएको बताए।
आजका युवालाई संस्कारयुक्त र सिर्जनशील वातावरण दिन सके मात्र भोलिको सुसंस्कृत समाज निर्माण गर्न सकिने उनको भनाइ थियो।
थापाले शिक्षाको विकासमा विद्यालयको तुलनामा घरपरिवारको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरे। सरकार र विद्यालयको प्रयासले मात्र शैक्षिक विकास सम्भव नहुने भन्दै उनले विद्यार्थीको भविष्य निर्माणमा अभिभावकको भूमिका निर्णायक हुने बताए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सचिव देवकी ढुङ्गानाले विद्यार्थी तथा अभिभावकलाई स्वागत गरिन्। स्थानीयवासीको निरन्तर सहयोग र सहकार्यका कारण वडाले विभिन्न रचनात्मक तथा विकास निर्माणका कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेको उनले बताइन्।
युवालाई सत्मार्गमा डोर्याउन र उनीहरूमा आन्तरिक उत्प्रेरणा जगाउन यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा वडा सदस्य सीता थापा, कृष्णराज चालिसे, शर्मिला परियार र केशवप्रसाद श्रेष्ठले विद्यार्थीलाई खादा ओढाएर सम्मान गरेका थिए। वडाध्यक्ष थापाले अभिभावकको उपस्थितिमा विद्यार्थीलाई मायाको चिनो तथा प्रमाणपत्र हस्तान्तरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।




