‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि’ अन्त्य गरोस् : उपराष्ट्रपति

हिमाल प्रेस १ कार्तिक २०८३ ६:१८ | Saturday, October 17, 2026
6
SHARES
‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि’ अन्त्य गरोस् : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दु धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।

विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्।

उपराष्ट्रपति यादवले ‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि’ तथा ‘मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ’ भनेका छन्।

विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुण त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने बताएका छन्। व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबिच सन्तुलन कायम राख्न विजयादशमीको विशेष महत्त्व रहेको उनको भनाइ छ।

ब्कष्बल एबष्लतक
दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्धको नवीकरण गर्ने बताएका छन्।

‘ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले’ भन्दै उनले ‘पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ’ भनेका छन्। यस अर्थमा विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नभई ‘सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको’ उनको भनाइ छ।

हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवर्द्धनमा विजयादशमीजस्ता पर्वको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

उपराष्ट्रपतिले विजयादशमी, २०८३ ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उनले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८३ ६:१८ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast