दुई महिनामा भित्रियो चार खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स

हिमाल प्रेस २९ असोज २०८३ १६:२७ | Thursday, October 15, 2026
4
SHARES
दुई महिनामा भित्रियो चार खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य बढेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई चार खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको भदौमा दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो।

अमेरिकी डलरमा १३.५ प्रतिशतको वृद्धि

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।

खुद द्वितीय आय (खुद ट्रान्सफर) चार सय ६९ अर्ब ४४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा तीन सय ८४ अर्ब ८८ करोड थियो।

नयाँ श्रम स्वीकृति घट्यो, पुनः श्रम स्वीकृतिमा वृद्धि

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्यामा भने केही गिरावट आएको छ । दुई महिनाको अवधिमा ७८ हजार तीन सय २० जनाले नयाँ श्रम स्वीकृति लिएको राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ९० हजार एक सष ९८ थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर ५२ हजार एक सय ६३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार आठ सय ८४ थियो।

बाह्य क्षेत्र र विदेशी मुद्रा सञ्चिति बलियो

विप्रेषण आप्रवाहमा आएको निरन्तर सुधारका कारण देशको बाह्य क्षेत्र थप सुदृढ बनेको छ। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता एक सय ६९ अर्ब चार करोडले बचतमा र शोधनान्तर स्थिति एक सय ८७ अर्ब ६८ करोडले बचतमा छ।

यसका साथै, कुल विदेशी विनिमय सञ्चिति ४०६५ अर्ब ७८ करोड (२६ अर्ब ४८ करोड अमेरिकी डलर) पुगेको छ। यो सञ्चिति चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २९ असोज २०८३ १६:२७ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast