दसैँमा रातो माटो र कमेरोले घर पोत्ने चलन हराउँदै

हिमाल प्रेस २८ असोज २०८३ १३:२८ | Wednesday, October 14, 2026
8
SHARES
दसैँमा रातो माटो र कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर- गाउँघरमा माटो तथा कमेरो (सेतो माटो) ले घर पोत्ने लिप्ने चलन हराउँदै गएको छ।

दसैँ नजिकिएसँगै विगतमा घरमा कमेरो तथा रातो माटोले पोतेर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो।

घर पोत्न डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ।

नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका-६ भंगेरीका स्थानीयवासी भीमराज विष्टले बताए।

विगतका दसैँमा खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उनको भनाइ छ।

अहिले बजारमा सहजै पाइने अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको विष्टले बताए।

‘पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपर्थ्यो,’ उनी भन्छन्,‘घरमा ल्याएर तयार पारी घरमा लगाउने चलन थियो। अहिले बजारमा पाइने चुन र रङ प्रयोग गर्न सजिलो छ। त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ।’

पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ। यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ।

कमेरो लगाउने चलन घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताइन्।

प्रकाशित: २८ असोज २०८३ १३:२८ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast