काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा.अनिल सुकलालले भेटवार्ता गरेका छन्।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।
उनीहरूबीच नेपालमा हालै आएको विनासकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका थिए।
जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।




