फाइल तस्बिर।
काठमाडौँ- संयुक्त राष्ट्रसंघीय निकायले आइतबार बताएअनुसार अक्टोबर ८ र ९ को रात जिबुटीको तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ। उक्त घटनामा करिब ११६ जना बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को विज्ञप्तिअनुसार घटनामा बाँच्न सफल आप्रबासीहरूका अनुसार जिबुटीबाट यमन जाँदै गरेको ३०५ जना बोकेको उक्त जहाज जिबुटीको ओबोक सहरको उत्तरमा पल्टिएको थियो।
विज्ञप्तिमा जिबुटीस्थित आईओएमका प्रमुख अलेक्जेन्ड्रे कोइसाकले भने, ‘यो जीवनको विनाशकारी क्षति हो। बाँचेकाहरू र आफन्त गुमाएका वा आफन्तको खबर नपाएका परिवारप्रति हाम्रो सहानुभूति छ।’
‘यो त्रासदी आर्थिक अवसर खोज्दै बाब अल–मन्देब जलमार्गबाट यमन हुँदै खाडी मुलुकहरू पुग्न खोज्ने आप्रवासीहरूले यस आप्रवासन मार्गमा भोग्नुपर्ने खतराको कडा सम्झना हो,’ उनले भने।
बरामद भएका १०९ शवमध्ये पुरुष ५२, महिला ४२ र बालबालिका १५ रहेका विज्ञप्तिमा जनाइएको छ। मृतक बालबालिकामध्ये बालिका नौ र बालक छ रहेका छन्।
डुङ्गा दुर्घटनामा ८० भन्दा बढी व्यक्ति बाँचेका र उनीहरू सबै इथियोपियाली नागरिक हुन्।
आईओएमले भनेको छ, ‘गरिबी, असुरक्षा र जलवायु परिवर्तनका बढ्दो प्रभावले मध्य पूर्वमा बढ्दो अस्थिरताका बाबजुद पनि धेरैलाई यो यात्रा गर्न प्रेरित गर्छ।’
यमन साउदी–समर्थित सरकार र तेहरान–समर्थित हुथी विद्रोहीबीचको लडाइँबाट ग्रस्त छ। हुथीहरूले इरानविरुद्ध अमेरिका र यसका सहयोगीहरू संलग्न क्षेत्रीय द्वन्द्वमा पनि भाग लिएका छन्।
आईओएमले ओबोकको आप्रवासी केन्द्रमा ६४ बाँचेकाहरूलाई सहायता गरिरहेको बताएको छ।–रासस/एएफपी



