बूढीगण्डकी बाढी : खोज तथा उद्धारका लागि ४ सयबढी सुरक्षाकर्मी परिचालित

हिमाल प्रेस २५ असोज २०८३ १६:४७ | Sunday, October 11, 2026
12
SHARES
बूढीगण्डकी बाढी : खोज तथा उद्धारका लागि ४ सयबढी सुरक्षाकर्मी परिचालित

काठमाडौँ- गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन्।

‘बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्‍याएको छ,’ प्राधिकरणका प्रवक्ता शान्ति महतले भने, ‘धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ।’

महतका अनुसार चुमनुब्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको उनले जानकारी दिए।

‘सैगरी, आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ,’ उनले भने, ‘माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छ। बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ। बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ।’

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ।

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालन

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए।

‘सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ,’ उनले भने, ‘बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएकोे छ,’ उनले भने।

प्रकाशित: २५ असोज २०८३ १६:४७ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast