दसैँ स्वास्थ्य

मासुसँग सागसब्जी पनि उत्तिकै खानुपर्छ : डा. ओजस्वी शेरचन [अन्तरवार्ता]

रमेश दवाडी १ कार्तिक २०८३ ७:०२ | Saturday, October 17, 2026
2
SHARE
मासुसँग सागसब्जी पनि उत्तिकै खानुपर्छ : डा. ओजस्वी शेरचन [अन्तरवार्ता]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद डा. ओजस्वी शेरचन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति हुन्। राजनीतिसँगै चिकित्सकीय पेसामा समेत आबद्ध उनी दसैँमा खानपानमा संयम अपनाउनुपर्ने बताउँछिन्। दसैँमा मासुको अधिक सेवन, मदिरा, चिल्लो खानेकुरा र अपचबाट बच्ने उपायलगायत विषयमा चिकित्सक शेरचनसँग गरिएको कुराकानी :

दसैँजस्ता चाडबाडमा कस्तो खानपान उपयुक्त हुन्छ? मासु र मदिरा (अल्कोहल) खाँदा के के कुरामा ध्यान दिनुपर्छ?

दसैँमा हाम्रो संस्कृतिअनुसार मासु खाने चलन छ, तर खाँदा केही महत्त्वपूर्ण कुरामा ध्यान दिनु जरुरी हुन्छ। मासु मात्रै धेरै खाँदा कब्जियत (दिसा कडा हुने) समस्या हुन सक्छ। त्यसैले मासु खाँदा सँगै हरियो सागसब्जी र फलफूल अनिवार्य रूपमा खानुहोस्। धेरै चिल्लो र बोसो भएको मासु खाँदा तौल त बढ्छ नै, साथै रगतको नलीमा खराब कोलेस्ट्रोल (LDL) जम्मा हुन थाल्छ। यसले गर्दा भोलिका दिनमा उच्च रक्तचाप र हृदयघात (हार्ट अट्याक) जस्तो ज्यानै जाने जोखिम निम्तिन सक्छ।

चाडबाडमा रमाइलोका लागि थोरै मदिरा पिउनु बेग्लै कुरा हो, तर यसलाई लत वा धेरै पिउने बहाना बनाउनु हुँदैन। मदिराले दीर्घकालमा शरीर बिगार्ने मात्र काम गर्छ। मदिराले हाम्रो मस्तिष्क र Nervous system को कार्य क्षमतालाई ढिलो र कमजोर बनाइदिन्छ। लठ्ठिएपछि मानिसको सोच्ने, सही निर्णय लिने र शरीरको सन्तुलन मिलाउने क्षमता (Reflexes) तुरुन्तै घट्छ। यही कारणले गर्दा ‘ड्रिंक एन्ड ड्राइभ’ गर्दा गाडीको गति नियन्त्रण गर्न वा अचानक ब्रेक लगाउन नसकी भयानक सडक दुर्घटना हुन पुग्छ। चाडबाडलाई स्वस्थ र सुरक्षित तरिकाले मनाउन खानपानमा सन्तुलन मिलाउनु नै सबैभन्दा उत्तम उपाय हो।

मासुमा पनि रातो मासु कति उपयुक्त हाे?

युरिक एसिडको समस्या  भने रातो मासु (Red Meat) र बियरबाट टाढै रहनुहोस्। मासु खाँदा सधैँ ताजा र राम्ररी पकाएको मात्र खाने बानी बसाल्नुहोस्। सडेगलेको वा काँचो मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ। सुँगुरको मासु (Pork) वा राँगाको मासु राम्ररी नपकाउँदा टेपवर्म (Tapeworms – फित्ते जुका) जस्ता खतरनाक परजीवीहरू मानिसको शरीरमा सर्न सक्छन् र यसले मस्तिष्क वा कलेजोमा गम्भीर असर पुर्‍याउन सक्छ। त्यसैले मासु जहिले पनि पूर्ण रूपमा पकाएर मात्र खानुहोला।

मासुलाई पनि विभिन्न तरिकाले पकाएर, जस्तै सेकुवा बनाएर वा फ्राई गरेर खाने चलन हुन्छ। तर स्वास्थ्य (हेल्थ) का लागि चाहिँ कुन तरिका राम्रो हो र कसरी खाँदा ठीक हुन्छ?

स्वास्थ्यका लागि चाहिँ हाम्रो नेपाली तरिकाले प्रेसर कुकरमा जुन मासु बनाउँछौँ नि, त्यही ठीक छ। तपाईंले सेकुवा बनाउँदाखेरि मासुको जुन डडेको भाग हुन्छ, धुवाँका कारण हानिकारक रसायन बन्छन्। यी खानेकुरा जिब्रोलाई मात्र मीठो हुन्, यस्तो मासुले दीर्घकालमा शरीरलाई भित्रभित्रै बिगार्दै लैजान्छ र क्यान्सर तथा मुटुरोग जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।

खसी काटिसकेपछि जम्मा भएको बोसो पगालेर खाने गरेको देखिन्छ। त्यसले नि कत्तिको असर गर्छ?

त्यो बानी एकदमै राम्रो होइन। स्वादका लागि त ठीकै सुनिएला, अनि कहिलेकाहीँ सानैदेखि त्यसरी नै हुर्किएका कारण हाम्रो जिब्रोले त्यही बोसो नै खोजिरहेको हुन्छ। तपाईंले त्यसरी नै नियमित रूपमा मासुको बोसो (एनिमल फ्याट) खान थाल्नुभयो भने स्थ्यमा एकदमै नराम्रो असर (कन्सिक्वेन्स) गर्छ। बोसोमा अत्यधिक मात्रामा स्याचुरेटेड फ्याट (Saturated Fat) र कोलेस्ट्रोल हुन्छ। यसले रगतमा खराब कोलेस्ट्रोल (LDL) को मात्रा तीव्र रूपमा बढाउँछ। बोसो बिस्तारै मुटुका नलीमा जम्मा हुन थाल्छ (Atherosclerosis), जसले गर्दा उच्च रक्तचाप, हृदयघात (Heart Attack) र ब्रेन स्ट्रोक जस्ता गम्भीर समस्याको जोखिम बढ्छ।

दसैँ जस्ता चाडबाडमा धेरै मासु-भात खाने बानी हुन्छ। तर खाइसकेपछि शरीर भारी हुने र अप्ठ्यारो हुने समस्या हुन्छ नि, त्यस्तो बेला के के गर्ने?

त्यस्तो बेला सबैभन्दा पहिले, पेट र मनले ‘अब पुग्यो’ भनेपछि खान छोडिहाल्नुपर्छ। ‘चाडबाड त हो नि’ भनेर लोभ गरेर धेरै खानु हुँदैन। दोस्रो कुरा, खानेकुरा मिलाएर खानुपर्छ। मासु मात्र धेरै खाने होइन, मासुसँगै सागसब्जी र फलफूल पनि उत्तिकै खानुपर्छ। मासुमा फाइबर नहुने भएकाले यसले कब्जियत गराउन सक्छ। हरियो सागसब्जीले आन्द्राको हलचल (Bowel Movement) लाई राम्रो बनाउँछ र समग्र पाचन प्रक्रियालाई सजिलो पार्छ, जसले गर्दा पेट भारी हुने समस्या हुँदैन।

सबैभन्दा महत्त्वपूर्ण कुरा, खाएलगत्तै एकै ठाउँमा थचक्क बस्ने, तास खेल्ने वा ढल्किहाल्ने बानी गर्नु हुँदैन। खाना खाएको केही समयपछि यसो यताउति हिँडडुल गर्नुपर्छ। खाना पच्नका लागि शरीर चलाउनु एकदमै जरुरी हुन्छ, त्यसैले जिउ चलाउने कुरामा पनि ध्यान दिनुहोला।

पेय पदार्थ मासु खाँदा सँगै पिउनु राम्रो हो कि छुट्टै पिउनु राम्रो हो, अथवा खाँदै नखानु राम्रो हो?

यस्ता कोल्ड ड्रिंक्सहरू स्वास्थ्यका लागि सकेसम्म नखाएकै राम्रो हो। कोल्ड ड्रिंक्समा चिनीको मात्रा एकदमै धेरै हुन्छ। चिनीको लत खतरनाक हुन्छ। एकचोटि खाएपछि खान मन लागिरहन्छ। हामीले खाने भात र आलुमा पहिले नै कार्बोहाइड्रेट हुन्छ। त्यसमाथि मासुको बोसो र कोल्ड ड्रिंक्सको चिनी एकैचोटि शरीरमा जाँदा त्यो पच्न सक्दैन।

यसरी नपचेको खानेकुरा शरीरमा गएर बोसो बनेर जम्मा हुन्छ। यसले मोटोपना बढाउँछ र शरीरमा रोग निम्त्याउने बाहेक अरू केही काम गर्दैन। चाडबाडमा केटाकेटीहरूले कहिलेकाहीँ रमाइलोका लागि थोरै खानु बेग्लै कुरा हो, तर यसलाई बानीचाहिँ बनाउनु हुँदैन।

दसैँमा धेरै खाएर अपच (खाना नपच्ने) वा पेट गढबढ भइहाल्यो भने तुरुन्तै के गर्ने?

सबैभन्दा पहिले त खानपानमै ध्यान दिनुपर्छ। खाएर एकै ठाउँमा नबस्नुहोस्। यसो यताउति हिँडडुल गर्नुहोस् वा केही समय भर्‍याङ ओर्लिने-उक्लिने गर्नुहोस्। यसले खाना पचाउन मद्दत गर्छ। प्रशस्त पानी र झोलिलो कुराहरू खाने गर्नुहोस्, जसले पेटलाई आराम दिन्छ।  यी उपाय गर्दा पनि पेट दुख्ने वा कब्जियत (दिसा नहुने समस्या) ठिक भएन भने तुरुन्तै स्वास्थ्य चौकी जानुपर्छ। विशेष गरी बच्चाहरूमा यस्तो समस्या देखिएमा घरेलु उपचारमा मात्र नअल्झिएर डाक्टरलाई देखाउनु सबैभन्दा सुरक्षित हुन्छ।

मासु उमालेर खानु र तेल-घिउमा पकाएर खानुमा के भिन्नता छ? उमालेर खाँदा के फाइदा वा असर हुन्छ?

हाम्रो शरीरले धेरै चिल्लो पदार्थ सजिलै पचाउन सक्दैन। त्यसैले स्वास्थ्यको अवस्था हेरेर मासु उमालेर खाने गरिन्छ। हाम्रो कलेजोले बनाउने ‘पित्त’ (Bile) जम्मा हुने ठाउँ पित्तथैली (गलब्ल्याडर) हो। यसले खाएको चिल्लो पचाउन मद्दत गर्छ। जसको पित्तथैलीमा पत्थरी भएर अपरेसन गरी पित्तथैली निकालिएको छ, वा चिल्लो पचाउन नमिल्ने कुनै रोग छ, उनीहरूका लागि तेल-घिउ नहाली मासु उमालेर खानु सबैभन्दा सुरक्षित हुन्छ।

मासु उमालेर खाँदा वा प्रेसर कुकरमा मध्यम तापक्रममा पकाउँदा (Moist heat cooking) त्यसमा पाइने मुख्य पोषक तत्वहरू जस्तै प्रोटिन, एमिनो एसिड र भिटामिन बी सुरक्षित रहन्छन्। तेलमा तार्दा वा आगोमा सीधै पोल्दा जस्तो उमाल्दा पोषक तत्वहरू खराब हुँदैनन् र शरीरले मासुको पूर्ण पोषण प्राप्त गर्छ।

दाँत नभएका बुढाबुढीरूका लागि मासु धेरे समय पकाएर दिने गरिन्छ। त्यसले केही फरक पार्छ?

मासुलाई धेरै समय पकाएर नरम बनाउँदा पनि त्यसबाट पाइने ऊर्जा (कैलरी) र मुख्य प्रोटिन (एमिनो एसिड) नष्ट हुँदैनन्। वृद्धवृद्धाहरूका लागि मासु राम्ररी पाकेर नरम भयो भने उनीहरूको कमजोर पाचन प्रणालीले प्रोटिनलाई अझ सजिलै सोस्न (Absorb गर्न) सक्छ। नरम मासु वृद्धवृद्धाहरूको पेटले अझ सजिलै पचाउन सक्छ। दाँत नभएका बुढाबुढीहरूका लागि मासु चपाउन सजिलो होस् भनेर धेरै समय पकाएर नरम बनाउनु एकदमै राम्रो र आवश्यक कुरा हो।

तर धेरै पकाउँदा मासुका केही भिटामिन र minerals निस्केर झोलमा मिसिने भएकाले मासुसँगै त्यसको झोल (सूप) पनि अनिवार्य रूपमा खुवाउनुपर्छ।

मासु खाएको बेलामा के के चिज खानुहुन्न?

मासुमा पाइने आइरन (Non-heme र Heme iron) लाई शरीरले राम्ररी सोस्नका लागि भिटामिन सी आवश्यक पर्छ। त्यसैले मासु खाँदा कागती निचोरेर वा भिटामिन सी युक्त कुरासँग खाँदा फाइदा हुन्छ। चिया र कफीमा ‘ट्यानिन’ (Tannins) र ‘पोलिफेनोल’ (Polyphenols) जस्ता तत्वहरू हुन्छन्। यिनीहरूले मासुमा भएको आइरनसँग प्रतिक्रिया गरेर शरीरलाई आइरन सोस्न दिँदैनन्। त्यसैले खाना खानेबित्तिकै चिया/कफी खानु हुँदैन।

दसैँको यस पावन अवसरमा आमनेपालीहरूलाई के सन्देश वा शुभकामना दिन चाहनुहुन्छ?

दसैँ हामी नेपालीको महान् चाड हो। यस सुखद अवसरमा म सबैलाई हार्दिक शुभकामना दिँदै केही कुराहरू भन्न चाहन्छु। दसैँलाई भव्य रूपमा मनाउनुहोस् र हाम्रो यो सुन्दर संस्कृति तथा परम्परालाई आफू पछिको नयाँ पुस्तामा पनि हस्तान्तरण गर्दै जानुहोस्।

व्यस्त कामबाट केही समय टाढा रहेर आफ्ना परिवार, आफन्त र नातागोतासँग भेटघाट गर्ने यो सुनौलो मौका हो। यस समयको भरपुर सदुपयोग गरी आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुहोस्। आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार पूजापाठ गर्नुहोस्, मीठो-मसिनो खानेकुराको आनन्द लिनुहोस्। तर, खानपान गर्दा अलिकति जिम्मेवार बन्नुहोस्। चाडबाडमा पनि नियमित व्यायाम गर्न नबिर्सिनुहोस्। अत्यधिक मदिरा (अल्कोहल) सेवन बिल्कुलै नगर्नुहोला, जसले गर्दा चाडबाडको बेला कुनै पनि अप्रिय वा दुखद घटना घट्न नपाओस्।
सबैले स्वस्थ, सुरक्षित र जिम्मेवार भएर दसैँ मनाउनुहोस्। विजया दशमीको सबैमा हार्दिक शुभकामना!”

प्रकाशित: १ कार्तिक २०८३ ७:०२ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast