प्यानलगत चिट बाँडिएको भन्ने कुरा फेक हो : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २३ असोज २०८३ ८:०७ | Friday, October 9, 2026
14
SHARES
प्यानलगत चिट बाँडिएको भन्ने कुरा फेक हो : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत चिट बाँडिएको भन्ने हल्ला निराधार भएको बताएका छन्।

सभापतिका उम्मेदवार गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची आन्तरिक रूपमा तयार गरी वितरण गरिएको चर्चा चलेपछि शर्माले त्यसको खण्डन गरेका हुन्।

उनले आफूहरूले तयार पारेको वा पठाएको भन्दै वितरण गरिएका प्यानलका सूचीहरू नक्कली भएको बताए। ‘हामीले बनाएको वा पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउन आवश्यक छैन,’ उनले भने।

शर्माले सभापतिका उम्मेदवार थापाले पनि आफ्नो नाम जोडेर सार्वजनिक गरिएका प्यानलका सूची नक्कली भएको बताइसकेको उल्लेख गरे।

शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा नभई सबै उम्मेदवारलाई समान रूपमा हेरेर मतदान गर्न आग्रह गरे।

‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष वा विपक्ष छुट्याएर दिनुहुन्न। मत परिणाम आउँदा सबै थरीका अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ,’ उनले भने।

प्रकाशित: २३ असोज २०८३ ८:०७ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast