काठमाडौँ- पशुपतिनाथ मन्दिरमा टिकटक बनाएका पुरुष र महिलालाई काठमाडौँ जिल्ला प्रहरी परिसरले पक्राउ गरेको छ।
पशुपतिनाथ मन्दिरमा सार्वजनिक हित र नैतिकताविरुद्धको कार्य गरेको आरोपमा प्रहरीले सुनसरी जिल्लाको इटहरी उपनगरपालिका ८ घर भएका ३० वर्षीय ओसिम अन्सारी र ३१ वर्षीया प्रियंका परियारलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार यही असोज १८ गते पशुपति मन्दिरअगाडि ‘प्रियंका सनी’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भिडिओविरुद्ध पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र विकास कोष ऐन २०४४ को ६।१ विपरीत कार्य गरेको भनेर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
सार्वजनिक हित, स्वास्थ, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा प्रहरी वृत्त गौशालाबाट अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको सहयोगमा ती महिला र पुरुषलाई असोज २० गते इटहरी उपमहानगरपालिका ९ बाट नियन्त्रणमा लिइएको हो।
सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा असोज २० देखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद थपको अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।



