युवालाई निर्णय गर्ने ठाउँमा पुर्‍याउन सहमहामन्त्रीमा उम्मेदवारी : राजीव ढुंगाना

हिमाल प्रेस २१ असोज २०८३ ११:२४ | Wednesday, October 7, 2026
युवालाई निर्णय गर्ने ठाउँमा पुर्‍याउन सहमहामन्त्रीमा उम्मेदवारी : राजीव ढुंगाना

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् ।

सुनसरी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि रहेका कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष राजीव ढुंगानाले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा उम्मेदवारी दिनुको कारणबारे ढुंगानाले पार्टीमा पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेकाले त्यसलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको बताए । विशेष महाधिवेशनबाट सुरु भएको पुस्तान्तरणको प्रक्रियालाई १५औँ महाधिवेशनले थप अघि बढाउनुपर्ने उनको भनाइ छ ।

‘बदलौँ कांग्रेस, बदल्छ देश’ भन्ने सन्देशलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको उल्लेख गर्दै उनले कांग्रेस अब के–कस्ता विषयमा बदलिन्छ भन्ने कुरा नेतृत्व र नीतिबाट देखाउनुपर्ने बताए । ढुंगानाले कांग्रेसले युवालाई नेतृत्वमा मात्र होइन, निर्णय गर्ने तहमा समेत पुर्‍याउनुपर्ने बताए । महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने र समसामयिक सामाजिक तथा आर्थिक मुद्दालाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

‘युवालाई निर्णय गर्ने ठाउँमा पुर्‍याउने, महिलाको सहभागिता सुनिश्चित गर्ने र समसामयिक मुद्दालाई कांग्रेसले आफ्नो राजनीतिक एजेन्डा बनाउनुपर्छ । त्यसैका लागि मेरो उम्मेदवारी हो।’ उनले भने। रोजगारीलाई प्रमुख मुद्दाका रूपमा अघि बढाउनुपर्ने बताउँदै ढुंगानाले कांग्रेसले राजनीति र निर्वाचनका विषयमा मात्रै केन्द्रित नभई सामाजिक मुद्दामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले जलवायु परिवर्तन र त्यसका असरलाई पनि कांग्रेसले गम्भीर राजनीतिक मुद्दाका रूपमा ग्रहण गर्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण कृषि, रोजगारी, स्वास्थ्य, बसोबास तथा जनजीवनमा परिरहेको प्रभावलाई सम्बोधन गर्ने गरी पार्टीले नीति बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जलवायु परिवर्तन र यसका असरबारे नेपाली कांग्रेसले मुद्दा ग्रहण गर्नुपर्छ, अब मुद्दामा काम गर्नुपर्नेछ,’ ढुंगानाले भने, ‘सभापति गगन थापाले उद्घोष गरेको संकल्पलाई साकार पार्नका निम्ति मेरो उम्मेदवारी हो ।’

कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापति खुलातर्फ डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा। चन्द्रमोहन यादव उम्मेदवार छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार छन् । महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन् ।

खुला सहमहामन्त्रीमा राजीव ढुंगानासहित अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडाले उम्मेदवारी दिएका छन्। खुला सहमहामन्त्रीमा दुई जनाका लागि १० जनाको उम्मेदवारी परेको हो ।

यसैगरी विभिन्न समावेशी समूहअन्तर्गत पनि सहमहामन्त्री पदमा उम्मेदवारी परेको छ ।

प्रकाशित: २१ असोज २०८३ ११:२४ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast