काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कतिपय राजनीतिक दलले ‘बितेको २५ वर्षमा देशमा केही भएन’ भन्ने गलत भाष्यको सहारा नलिएको बताएका छन्।
पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा सोमबार प्रतिवेदन पेस गर्दै शर्माले नेपाली राजनैतिक संस्कृतिमा भएको क्षयको यो सबैभन्दा दुःखद उदाहरण रहेको बताए।
‘के साँच्चै बितेको ३५ वर्षमा देशमा केही पनि प्रगति नभएको हो त?,’ प्रश्न गर्दै उनले भने,‘यो दस्तावेज लोकतान्त्रिक संस्कृतिको प्रश्नमा केन्द्रित छ। अतः विगतका अनेकन उपलब्धी र कमजोरीको टिपोट अन्य दस्तावेजमा हुनेछ। तर, यहाँनेर केवल एउटा उदाहरण समरण गरौँ– भोटेकोसीमा आएको बाढी पश्चातको भौतिक क्षतिको विवरण।’
पूर्णपाठ
राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा
राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा###
सम्झना र श्रद्धाञ्जलि
महीना दिन अघि भोटेकोसी विपद देशले व्यहोर्नुपर्यो l हाम्रा कयौं आफन्तको अमुल्य जीवन गुम्यो, हजारौं परिवार बेपत्ताजनको प्रतीक्षा र पीडामा छन् । मानवीय क्षतिसँगै खर्बौको भौतिक संरचना विनाश भएको छ । यो पिडा र क्षतिबाट उठ्न नेपाली काँग्रेसले सबै आग्रह पुर्वाग्रह भन्दामाथी उठेर सरकारलाई साथ दिएको छ र दिइरहने छ । यो हाम्रो लोकतान्त्रिक संस्कार र मानवीय कर्तव्य दुवै हो । भोटेकोसी लगत्तै मनाङ लगायतको विपदमा जीवन गुमाएकाहरुप्रति यो बन्द सत्र भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
श्रद्धा र संकल्प
जननायक विपि कोइरालाले स्थापित गर्नुभएको राजनैतिक दल नेपाली काँग्रेसले उहाँको विश्वासको राजनैतिक प्रणाली मुलकमा स्थापित गर्न प्रधान नायकत्व निर्वाह गर्यो । अब उहाँको संस्कार बमोजिमको लोकतान्त्रिक संस्कृति बलियो ढंगले मुलुकमा स्थापित गरेर हामीले एकातर्फ प्रणालीलाई सबल बनाउनु छ र अर्कोतर्फ यहि प्रणालीलाई समयानुकूल परिमार्जित गर्दै देशलाई यहि मार्गबाट समुन्नतिको उचाइमा पुर्याउनु छ l १५ औं महाधिवेशनमा `परम्पराको सम्मान र परिवर्तनको संकल्प´ गरिरहेको यो घडी हामी विपिसँगै सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाप्रति श्रद्धा र श्रद्धाञ्जलि एवं निवर्तमान सभापति श्रद्देय शेरबहादुर देउवाप्रति सम्मान प्रकट गर्दछौं ।
संकल्प ; नविन आशा र विश्वासको
नेपाली काँग्रेसको १५ औं महाधिवेशन पार्टीको समयानुकूल निति र दृष्टि निर्माण एवं नेतृत्व चयनसँगै नेपाली समाजमा नविन आशा र विश्वासको नविन पालुवा हुर्काउने संकल्पमा समर्पित छ । आजको नेपाल र आजको नेपालीजनमा आशा, भरोसा र विश्वासको जगेर्ना गर्नु / गराउनु यतिबेला हामी सबैको साझा राष्ट्रिय दायित्व हो ।
काँग्रेस प्रतिपक्षमा छ l तर आवेग, अनपेक्षित द्वन्द्व र निराशा समाजमा बिस्तार भएर त्यसबाट लाभान्वित हुनुपर्छ भन्ने नकारात्मक सोचलाई स्थान दिँदैन । देशको मुल नेतृत्व गर्ने सरकारकै कर्मले नागरिकमा आशा जाग्ने या निराशा झ्याँगिने हुन्छ तर काँग्रेस मान्यता राख्दछ- प्रतिपक्ष झनै जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले नागरिकको प्रश्नलाई एकातर्फ बलियो बनाउँछ, अर्कातर्फ समाजमा आशाको दियोलाई निभ्न दिँदैन । यो सत्यलाई बुझ्नु र कार्यान्वयनमा ईमानदार बन्नु- आजको नेपालको जीवन्त लोकतान्त्रिक संस्कृति हो, जसको प्रतिनिधित्व यतिबेला नेपाली काँग्रेसले गरिरहेको छ ।
१) अनुकरणीय पक्ष आत्मसात, कमजोरीमा आत्मालोचना
नेपालको राजनैतिक संस्कृतिमा अनुकरण योग्य कैयन सुन्दर अध्याय छन् । त्यसप्रति सन्तोष मान्नुपर्छ । तर कयौं कमजोरी र खराबीहरु सामुन्नेमा छन् , जसले समग्र राजनीतिप्रति विकर्षण बढाउन भुमिका खेलेको छ । कुनै पनि असल राजनैतिक प्रणालीको सफलता त्यसका संचालक, सदस्य, प्रतिस्पर्धी र समर्थक समेतको संस्कार र ब्यवहारमा निर्भर हुन्छ l हेक्का राखौं वर्तमान संविधान क्रमशः क्रमशः राष्ट्रिय एकताको साझा दस्तावेज बन्दै जाने क्रममा छ, यसप्रति अपनत्वको दायरा बढाउन केहि काम बाँकी छन् । अनि संसदीय लोकतान्त्रिक पद्धति हामी सबैको साझा बाटो बनिसकेको छ । अब जरुरी छ
राजनैतिक संस्कृतिमा भएको क्षयलाई केलाउन र पुनर्जागरणका लागि शब्द होईन व्यवहारले योगदान गर्न ।
नेपाली काँग्रेस १५ औं महाधिवेशनको बन्द सत्र मार्फत
सर्वप्रथम स्वयं आफ्नो भागको कमजोरीप्रति आत्मालोचित हुँदै
अघि बढ्ने संकल्प गर्दछ l बिशेष महाधिवेशनबाट क्रमशः बदलिएर प्रस्तुत भइरहेकोे काँग्रेस नेपाली राजनैतिक संस्कृतिको युगानुकुल रुपान्तरण र पुनर्जागरणका लागि गम्भीर पहलकदमि लिनेे प्रतिबद्धता व्यक्त गर्दछ ।
२) काँग्रेस ; `ज्येष्ठ´ मात्र होइन `श्रेष्ठ´ पनि,’
थप प्रमाणित गर्दै बढ्ने संकल्प ।
गएको आमनिर्वाचनताका नेपाली काँग्रेस अनेकन आलोचनाले घेरिएको थियो । बिशेष महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ उर्जा र नयाँ सन्देशका साथ अघि बढ्यो l तर त्यसलाई जनजनसम्म सार्थक सम्प्रेषण गर्न हामीलाई समय अपुग भयो l तर फागुन २१ मा आदरणीय मतदाताले दिएको जिम्मेवार प्रतिपक्षको म्याण्डेटलाई इमानदार ढंगले आत्मसात गरेर हामी कार्यसम्पादन गरिरहेका छौं l काँग्रेस `ज्येष्ठ´ दल हो, सबैको ज्ञानमा छ । तर
`ज्येष्ठ´ मात्र होइन, `श्रेष्ठ´ पनि छ भन्ने सबैको `संज्ञान´ मा हामी स्थापित गर्न चाहन्छौं ।
नेपाली कांग्रेस कयौं दलको भिडमा केवल एउटा राजनीतिक दल होइन l यो एकातर्फ इतिहास हो- नेपालको लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार र प्रेस स्वतन्त्रताको आन्दोलनको । अर्कातर्फ यो- समावेशीता र सामाजिक न्यायको उसबेलादेखि आजसम्मकै बलियो प्रतिनिधि शक्ति हो । सैद्धान्तिक रुपले आज सबैले रोजेको मार्गको प्रवर्तक हो नेपाली काँग्रेस । लोकतान्त्रिक समाजवादको आधारशिला खडा गर्ने अनि सामाजिक सद्भाव , संयम र सहकार्यको पैरवी र रक्षा गर्ने बलियो समन्वय सुत्र पनि हो नेपाली काँग्रेस ।
देशको स्मृतिमा ताजै छ- पछिल्लोपटक प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिले सृजना गरेको द्वन्द्व एकातर्फ चल्दै थियो तर सोहि समयमा राष्ट्रिय सभामा सरकारको निति तथा कार्यक्रम बिना रोकटोक पारित गर्न नेपाली काँग्रेसले साथ दिइरहेको थियो । सत्तारूढ दलको एकजना मात्र पनि सांसद राष्ट्रियसभामा नभएको स्थितिमा भर्खरै निर्वाचित भएर आएको सरकारलाई अफ्ट्यारोमा पार्नुहुन्न भन्ने काँग्रेसको सोच परिपक्व त थियो नै, लोकतान्त्रिक संस्कारको एक उन्नत उदाहरण पनि थियो र त्यो थियो बदलिएको काँग्रेसको एक परिपक्व छवि ।
सुनसरीमा अनाहकमा सरकारि गोलिले युवाको मृत्यु हुँदा जब मधेसमा द्वन्द्व चर्कियो, काँग्रेसले त्यसबेला कस्तो भुमिका निभायो, देशले गहिरो स्मृतिमा राखिरहन जरुरी छ । हाम्रा लागि दलको जित दोस्रो बिषय हो, `देश पहिलो´ हाम्रो नारा होइन, प्रतिबद्धता हो र अग्रजहरुले सुम्पिएको ऎतिहासिक जिम्मेवारी हो ।
१५ औं महाधिवेशनको बन्द सत्रमा हामी संकल्प गर्दछौं- निरन्तर श्रेष्ठ स्थापित हुन हामी कांग्रेसजनले लोकतान्त्रिक संस्कृतिलाई निरन्तर इमानका साथ प्रस्तुत गर्नुछ, प्रस्तुत गर्नेछौं । जहाँ चुक्नेछौं, त्यहीँ सच्याउने छौं ।
३) ब्यक्तिको दोष संस्थालाई नबोकाउने संकल्प
जहाँ चुक्नेछौं, त्यहीँ सच्याउने छौं l यो हाम्रो संस्थागत संकल्प १५ औं महाधिवेशनबाट पारित गर्दैछौं l हामी प्रष्ट छौं र प्रष्ट रहनेछौं, कि ब्यक्तिको दोष हामी संस्थालाई बोकाउन्नौं ।
काँग्रेस देशको प्रचलित कानुनमा विश्वास गर्दछ, बिधिमा विश्वास गर्दछ , अत पार्टीको वडा तहदेखि केन्द्रसम्म कुनै पनि सदस्य या कुनै पनि बडे नेता कुनै पनि कानुन उलंघनको मुद्दामा जोडिन्छन् भने त्यसको सामना स्वयं व्यक्तिले गर्नेछ / गर्नुपर्नेछ । यद्यपि आरोपको आधारमा कोहि निर्दोष फँस्नुहुन्न, राज्यको दबाब र प्रभावमा दोषि कोहि उम्किनु हुन्न l उन्नत लोकतान्त्रिक संस्कृतिले निष्पक्ष न्याय निरुपणको अपेक्षा राख्दछ । यो स्पष्ट मान्यतामा काँग्रेस सदैब स्पष्ट र सदैब दृढ़ रहनेछ ।
४) लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र !
निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियालाई मात्रै अबको दुनियाँमा उन्नत लोकतन्त्रका रूपमा परिभाषित गर्न सकिन्न l How democracy dies मा हार्भड युनिभर्सिटीका बिख्यात द्वय विद्वान लेख्छन् – `लोकतन्त्र मर्न सक्छ, तर सैनिक जर्नेलको बन्दुकबाट होइन, निर्वाचित नेतृत्वको हातबाट´ । निस्चयनै मुलुकको कानुन, बिधि र संस्थाहरुको मर्यादा राखिएन भने न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसको मर्यादा भत्काइयो भने बुझ्नुपर्छ लोकतन्त्रको अस्थिपन्जर मात्रै बाँकि छ / बाँकी रहन्छ । विश्वव्यापी रूपमा यो चिन्ता र विश्लेषण जो गरिंदै आएको छ, त्यसलाई आजको नेपालको वस्तुगत स्थितिको ईमानदार समिक्षासाथ जननिर्वाचित सरकार र जिम्मेवार प्रतिपक्षले एकसाथ गहिरो मनन गर्न जरुरी छ ।
प्रक्रियासँगै प्रवृत्ति प्रधान हुन्छ भन्ने हेक्का हामी सबै थरि दल र सबै राजनीतिकर्मिले गहिरोसँग राख्न जरुरी छ । Genz बिद्रोहपछि नेपाली समाजको अपेक्षा यो सन्दर्भमा अझै बलियोसँग बदलिएको छ l हामी स्पष्ट हुनुपर्छ- देखिने प्रक्रियामा भन्दा भोगिने प्रवृत्तिमा लोकतन्त्र बढि अनुभुत हुनसक्नुपर्छ । अन्यथा लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र बन्न पुग्छ l त्यसको मुल्य लोकतन्त्रको गर्भबाट जन्मिने अलोकतान्त्रिक प्रवृत्तिले त चुकाउनुपर्छ नै अन्ततः ढिलोचाँडो त्यसले समग्र देशको खुशी, शान्ति र अग्रगतिलाई गम्भीर असर पुर्याउँछ ।
नेपाली काँग्रेस लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई निरस प्रक्रिया मात्रै बन्न नदिन दृढ प्रतिबद्ध छ l आज प्रतिपक्षको र भोलि सरकारको नेतृत्वमा पुग्दा यो प्रतिबद्धतालाई ढृढ ढंगले आत्मसात गरिरहन र ब्यवहारमा उतार्न काँग्रेस संकल्पबद्द छ ।
५) लोकतन्त्रको केन्द्रमा `मान्छेको मुल्य´ !
सामान्यतया `मान्छेको मुल्य´ सुन्दै गर्दा अनौठो या अस्वभाविक शब्दावली लाग्नसक्दछ l तर जब सत्ताले अनधिकृत या बैधानिक ढंगले नै सहि कुनै कदम चाल्दा मानवीय प्रश्नलाई गौण र कानुनका चिसा अक्षरलाई प्रधान ठान्न पुग्छ तब `मान्छेको मुल्य´ को प्रश्न बेजोड ढंगले उठ्छ नै । विपि कोइरालाको दर्शनले सदैव `मान्छे´ लाई केन्द्रमा राख्यो l कम्युनिस्ट दर्शनसँग लोकतान्त्रिक मुल्यको गम्भीर विमतिको सार पनि त्यहि थियो ।
फागुन २१ पछि बनेको सरकारलाई सुकुम्बासी ब्यवस्थापनको प्रश्नमा संयमसाथ कार्य गर्न सबै दलको एक्यवद्ध समर्थन जुट्न सक्दथ्यो l तर नयाँ सरकारको नेतृत्वमा `पुरानो आवेग´ हावि रहँदा, त्यसले मध्य बर्खामा बालबालिका, वृद्धवृद्दा, सुत्केरी कसैलाई पनि कुनै मानवीय संवेदनशीलता ख्याल नगरि उठिबास लगायो l हुनसक्छ ति मध्ये कयौंको बसाई बैधानिक थिएन, तर त्यसो भनिरहँदा ति प्रत्येक मान्छेको जन्म र जिन्दगी अवैधानिक पक्कै थिएन । `मान्छेको मुल्य´ को प्रश्न त्यसैले यहाँनेर उठ्छ र जबर्जस्त ढंगले उठ्छ ।
हो लोकतन्त्रले निस्चय नै बहुमतको शासन भन्छ,
तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अदना नागरिकले माइतीघर मण्डलामा उभिएर `मलाई अन्याय भयो सरकार´ भन्ने प्लेकार्ड देखाउँदा `राज्यले सुन्यो कि सुनेन´ त्यो हेर्छ l परम्परागत परिभाषामा `लोकतन्त्र भन्नु बोल्ने अधिकार´ थियो, आजको समयमा `बोलेको सुनियो कि सुनिएन, सुनुवाइ भयो कि भएन´ लोकतन्त्रको परिक्षण अब यसरि हुन्छ ।
अर्थात लोकतान्त्रिक संस्कृतिमा `मान्छेको मुल्य´ अनमोल हुन्छ र यो निर्वाचनमा पाइने `मान्छेको भोट´ भन्दा प्रधान हुन्छ l अस्थायी भोटको तागतमा, स्थायि मान्छेको अवमूल्यन लोकतान्त्रिक संस्कृतिको कुनैपनि कोणबाट जायज ठहर्दैन ।
नेपाली काँग्रेस लोकतन्त्रको केन्द्रमा सदैब नागरिक सम्प्रभुतालाई राख्नु लोकतान्त्रिक संस्कृतिको आधारभुत सौन्दर्य मान्दछ । नागरिकको वैयक्तिक मर्मलाई संवेदनशील ढंगले सम्बोधन गर्न काँग्रेस सदैव प्रतिबद्ध रहनेछ ।
६) `राजनीति´ प्रति पछिल्लो पुस्ताको प्रश्न र विश्वास !
०७२ मा नयाँ संविधान बनेपछिको उर्बर दशकमा उन्नत ढंगले सत्ता संचालन र समुन्नतिको यात्रामा नविन `डिपार्चर´ को अवसर गुमेपछि, त्यहि अवधिमा हुर्किएको पछिल्लो पुस्ता राजनीतिप्रति गम्भीर ढंगले विकर्षित हुन पुग्यो l राजनीतिलाई पद र शक्तिको खेलका रूपमा मात्र अनुभव गर्ने स्थिति भोगेपछि लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गयो । विश्वास कमजोर भएपछि आफ्नो गाउँ समाजमा भएको प्रगति र आफ्नो व्यक्तिगत जीवनले लोकतान्त्रिक पद्धतिका कारण प्राप्त गरेको थोरबहुत लाभ पनि उसले देख्न छोड्यो ।
जब प्रधानमन्त्री पदको `म्युजिकल चेयर´ को आलोपालो / आलोपालो चल्यो, त्यो दृश्यले निराश भएको युवामाझ `३५ बर्षमा देशमा केहि भएन´ भन्ने भास्य जबर्जस्त ढंगले भर्न संसदीय लोकतान्त्रिक प्रणालीका विपक्षीहरुलाई सफलता मिल्यो l Genz बिद्रोहमा हजारौं युवालाई गाँस्न यो भास्यले महत्त्वपूर्ण भुमिका निभाएको थियो ।
०८२ भदौको त्यो बिद्रोहमा जीवन गुमाएका युवा र अन्यप्रति काँग्रेस १५ औं महाधिवेशनको यो बन्द सत्र भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ l त्यो बिद्रोह मार्फत युवाहरूले व्यक्त गरेको अपेक्षा सम्बोधन गर्ने दिशामा इमानदार ढंगले कर्म गर्ने प्रतिबद्धता दोहोर्याउँदछ ।
पछिल्लो पुस्ताले नियमित रुपमा उठाउने प्रश्नको नियमित सम्बोधनले मात्रै तिनको विश्वासलाई राजनीति र राज्यप्रणालीसँग निरन्तर जोड्न सकिन्छ भन्ने तथ्यलाई सबै राजनैतिक दल र सरकारले गम्भीर हेक्का राख्न जरुरी छ ।
७) बदलिएको समयमा इतिहासको सम्मान
इतिहासको अवमूल्यन गरिनु स्वस्थ लोकतान्त्रिक चरीत्र विल्कुलै होइन । देश गणतन्त्रमा छ भनिरहँदा पृथ्वीनारायण साह, त्रिभुवन या इतिहासको निश्चित कालखण्डमा सकारात्मक योगदान दिएका कसैको पनि अनादर गर्न किमार्थ मिल्दैन l लोकतान्त्रिक गणतन्त्र आजको नेपाल र अबको नेपालको पनि मुल मार्ग हो । तर गणतन्त्र पुर्वका स्थापित उपलब्धिहरु पनि रास्ट्रका सम्पत्ति हुन् ।
हामीले निश्चित दलको चस्माबाट हेरेर फरक राजनैतिक नेतृत्वको महत्त्वपूर्ण योगदानलाई पनि कि अनादर कि अनदेखा गरेका छौं l नेपालको सन्दर्भमा संसदीय लोकतान्त्रिक पद्धतिको प्रस्ताव जननायक विपि कोइरालाले गर्नुभएको थियो, तर सबैले त्यहि मार्ग अपनाइसक्दा पनि तथ्यको श्रद्धापुर्वक स्मरण गरेको कमै सुनिन्छ । ६० बर्ष लामो राजनीति गरेपछि अघिल्तिर आएको प्रधानमन्त्री पद सर्वोच्च नेता गणेशमान सिंहले नम्रतापुर्वक अस्विकार गर्नुभयो l विश्वकै दुर्लभ मध्येको यो उदाहरणलाई हामीले जुन उचाइको मुल्यका साथ साझा ढंगले आत्मसात गर्न सक्नुपर्थ्यो त्यो गर्न सकेनौं । प्रधानमन्त्री पदबाट बाहिरिंदै गर्दा केवल छाता, ट्यांका र सुराहि बोकेर निक्लिनु भएका सन्त नेता कृष्णप्रसाद भट्टराईको गाथा हामी सबैले गायौं, तर राजनैतिक जीवनको कुनै मोडमा त्यहि सरलता अनुकरण गर्न हामी कोहि पनि अग्रसर भएनौं ।
संसारभर कम्युनिस्ट सरकारहरु धरासायि हुँदै गरेका बेला मार्क्सवादको सृजनात्मक प्रयोग र विकास गरौं भन्ने नारा साथ श्रद्देय मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने जमर्को गर्नुभयो l देशभित्रको कुनै पनि शक्ति या समुहको रुपान्तरणले लोकतान्त्रिक पद्धतिलाई बल पुग्छ भन्ने विश्वाससाथ त्यो कदर गर्न हामी कमै मात्र अग्रसर रह्यौं ।
पहिल्याउँदै जाँदा फरकफरक राजनैतिक कित्तामा थुप्रै कदर योग्य उदाहरण पाउन सकिन्छ । ति सबै समग्रमा हाम्रै राजनीतिभित्रका सौन्दर्य हुन् । अर्को पक्षको खराबीलाई खोजेर असरल्ल बनाइदिन जे जति जाँगर हाम्रो राजनीतिमा देखिन्छ त्यो भन्दा बढि सकारात्मक उदाहरणहरुलाई आत्मसात गर्न लगाउनु सहिष्णु र उदार लोकतान्त्रिक संस्कार हुन्छ । नेपाली काँग्रेस १५ औं महाधिवेशनको बन्दसत्रमा संकल्प गर्दछ- बदलिएको समयमा हामी महत्त्वपूर्ण योगदान र नविन सोचका सबै सकारात्मक तथ्य चाहे विगतका हुन् या आगामी दिनका तिनलाई ग्रहण गर्दछौं र त्यहि दिशामा उदार सकारात्मक सोच अभिवृद्धि गर्न समग्र नेपाली राजनीतिलाई आह्वान गर्न चाहन्छौं ।
चौथो भाग final
८) `३५ बर्ष´ को गलत भाष्य, विसंगत राजनीतिको चपेटा
`बितेको ३५ बर्षमा देशमा केहि भएन´ भन्ने गलत भाष्यको सहारा नेपाली राजनीतिमा कतिपयले लिएको देखिन्छ l हाम्रो राजनैतिक संस्कृतिमा भएको क्षयको सबैभन्दा दु:खद उदाहरण हो यो l के साँच्चै बितेको ३५ बर्षमा देशमा केहि पनि प्रगति नभएकै हो त ? यो दस्तावेज लोकतान्त्रिक संस्कृतिको प्रश्नमा केन्द्रित छ अत विगतका अनेकन उपलब्धि र कमजोरीको टिपोट अन्य दस्तावेजमा हुनेछ l तर यहाँनेर केवल एउटा उदाहरण स्मरण गरौं- भोटेकोसीमा आएको बाढि पस्चातको भौतिक क्षतिको विवरण l
दर्जनौं पुल बगे ति कहिले खडा भएका थिए ? कयौं किमि पक्कि सडक बगे ति कहिले बनेका थिए ? कयौं जलविद्युत आयोजना जो ध्वस्त भए ति प्राय सबै यहि ३५ बर्ष भित्रका उपलब्धि थिए l काँग्रेसले निजि क्षेत्रलाई बिधुत उत्पादनमा भित्र्याउने निति लिएका कारण पंचायतले छोडेर गएको २७७ मेगावाटबाट हाम्रो उत्पादन ३५०० मेगावाट पुगेको छ l गएको आर्थिक बर्षमा मात्रै नेपालले बिधुत ब्यापारबाट १८ अर्ब खुद नाफा गर्यो l बितेको ३५ बर्षको अवधिमा देशले १० बर्षे सशस्त्र द्वन्द्व, राजाको सकृय शासन, ०७२ बैशाख १२ को भुकम्प, जाजरकोट भुकम्प, विश्वव्यापी महामारी सबै प्रतिकुलता सामना गर्यो l यि सबका बाबजुद देशमा अनेक उपलब्धि हासिल भएका छन् l
बितेको ३५ बर्षमा केहि पनि भएन भन्ने भाष्यलाई चिर्न जरुरी छ । वस्तुगत भएर समाजका सामु तथ्य राख्न र नकारात्मक कोणबाट मात्रै ब्याख्या गरिने गलत राजनैतिक सोच र संस्कृतिलाई भत्काउन जरुरी छ ।
९) नेतृत्व ; जमेको पोखरी कि बगिरहने नदि
विपि कोइरालाले भावि प्रधानमन्त्री भनेर ०३७ को जनमतसंग्रह ताका आफ्नो सहकर्मि मित्रको नाम सार्वजनिक रुपमै प्रस्तुत गर्नुभयो । फेरिपनि प्रधानमन्त्री पदका लागि आफैं अघि सर्ने आकांक्षा राख्नुभएन । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पार्टीको कार्यवाहक आफु सकृय छँदै सुम्पिनु भयो । त्यो कर्मले एकातर्फ उहाँको राजनैतिक उचाइ झनै बढायो, अर्कातर्फ सहयोद्दा साथीहरूको नेतृत्व विकासलाई मार्गप्रशस्त गर्यो ।
आफ्नो ब्यवहारबाट विपिले दिनुभएको सन्देश थियो- नेतृत्व जमेको पोखरी होईन, बगेको नदि जस्तो हुनुपर्छ । त्यसबाट प्राप्त संकेतलाई मुर्तिकृत गरेर नितिको स्वरुप दिनुपर्दा- `हरेक नेतृत्वले निस्चित उचाई र औचित्य पस्चात सम्मानजनक बहिर्गमनको मार्ग अख्तियार गर्नु उचित हुन्छ´ ।
पटकपटक उहि नेतृत्व निरन्तर, निरन्तर र निरन्तर रहिरहँदा त्यसले एकातर्फ नागरिकमा वितृष्णा बढेको हामीले प्रत्यक्ष अनुभुती गर्यौं, अर्कातर्फ नेतृत्वको तीब्र आलोचना बढ्ने र बढेको दृश्यको साक्षी बन्यौं । पद र सत्ताको लिप्साको छवि बनिदिँदा अन्ततः त्यो नेतृत्वले विगतमा गरेका राम्रा उल्लेखनीय कर्महरु ओझेलमा पर्न जाने र परेको यथार्थलाई नजिकबाट बुझ्यौं । त्यसैले १५ औं महाधिवेशन मार्फत नेपाली काँग्रेस संकल्प गर्दछ- अबको दिनमा नेपाली काँग्रेसले नेतृत्वलाई निरन्तर बग्ने नदि जस्तो ताजगि राख्नेछ । यसलाई बिधान , संविधान र लोकतान्त्रिक संस्कार सबै कोणबाट सुरक्षीत गर्नेछ ।
शासकीय नेतृत्वको हकमा गोदावरी महासमितिमा प्रस्तावित र बिशेष महाधिवेशनबाट पारित 1/2/3/4 को नितिलाई आफुले कार्यान्वयन गर्दै संविधानको अंग बनाउन काँग्रेसले पहलकदमि लिने निर्णय गर्दछ ।
१०) लोकतन्त्रमा प्रश्न `विरासत´ को होइन, विचारको हुन्छ!
विपि कोइरालाको दर्शनले सदैब केन्द्रमा मान्छेलाई राख्नुको अर्थ थियो मुलत मान्छेको श्रेष्ठताले नै समय, समाज र सभ्यताको नेतृत्व गर्दछ भन्ने दृढ विश्वास l विपिलाई `विरासत´ होइन, `विचार´मा विश्वास थियो । जीवनमा अघि राणातन्त्रको विरासत र पछि शाहवंशको विरासतसँग उहाँ लड्नुभयो l उहाँको विचारले स्वतन्त्रता खोज्यो, समावेशीता रोज्यो, समुन्नतिको प्रारम्भिक जग हाल्यो र एउटा बलियो राष्ट्रको परिकल्पना गर्यो । पारिवारिक विरासतको साँगुरो घेराभन्दा विशाल क्षितिजमा रहेको विपिको व्यक्तित्व र विचारलाई कहिँ, कसैले विरासतको पगरी भिराएर ब्याख्या गर्यो भने प्रथमतः त्यो विपिलाई नबुझ्नु हुन्छ, उहाँप्रति अन्याय हुन्छ र समग्रतामा विपिको विचार र संस्कार दुवैको विपरित हुन्छ ।
कुनै पनि विचारको विशाल आयतनलाई अघि लिएर जाने आधिकारिकता कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर दर्ता गरिने कुनै संस्थाको नामसारी जस्तो हुन्न l अझ विपिको विचारलाई त आजको युगका युवाको भावनासँग एकाकार गरेर अघि बढ्ने संकल्प काँग्रेसको ०८२ मा सम्पन्न दोस्रो बिशेष महाधिवेशनले गरिसकेको छ । १५ औं महाधिवेशनको बन्दसत्रमा हामी संकल्प गर्दछौं- विपिको विचार र उहाँले स्थापित गरेको पार्टीलाई हामी पछिल्लो पुस्ताको काँध र मस्तिष्कमा भरोसायोग्य ढंगले स्थापित गर्नेछौं l त्यो पुस्ता त झनै प्रबल ढंगले स्पष्ट छ- लोकतन्त्रमा प्रश्न विरासतको होईन विचारको हुन्छ ।
११) प्रवृत्ति र प्रणालीको प्रश्नका ८ अलग बुँदा !
राजनीतिमा जब विचारभन्दा व्यक्ति प्रधान लाग्न थाल्छ, संस्थामाथि जब गुट हावि हुन्छ, योग्यताभन्दा पहुँच जब बलशालि बन्छ, सेवाभन्दा पद र उत्तरदायित्वभन्दा शक्ति महत्वपूर्ण हुँदै जान्छ, तब बुझ्नुपर्छ लोकतान्त्रिक संस्कृतिले क्रमशः क्रमशः मृत्युवरण गरिरहेको छ । हामीले यि समग्र कुरालाई जोगाउन र जीवन्त राख्न सकेनौं भने फेरि दोहोर्याउँ लोकतन्त्रको अस्थिपन्जर मात्रै बाँकि रहन्छ, लोकतन्त्रको `साइन बोर्ड´ मात्रै बाँकि रहन्छ !
त्यसैले लोकतान्त्रिक संस्कृतिको क्षयलाई रोक्न हामीले केहि संकल्प, केहि कार्ययोजना र केहि बिशेष पहल गर्नुपरेको छ-
१) व्यक्तिको देवत्वकरण या दानविकरणको जो प्रवृत्ति समाजमा विकसित छ, त्यसलाई हामी पछ्याउने छैनौं ।
२) विचार समुहका नाममा स्थायि गुटको `काँक्रो´ चिराइ दलहरू भित्र रहँदै आएको प्रवृत्तिलाई भत्काउन जरुरी छ l बिशेष महाधिवेशनबाट त्यसलाई संभव तुल्याएको नेपाली काँग्रेसभित्र नयाँ प्रकृतिका संभावित गुटहरुको विकासलाई निरुत्साहित गर्न पार्टीको नेतृत्व र सचेत पंक्ति सजग रहनेछ ।
३) उम्मेदवार छनोटमा पहुँच र सम्बन्धको प्रभावलाई भत्काएर `इलेक्सन ब्युरो´ मार्फत नविन अवधारणाको कार्यान्वयन हाम्रो पहल र प्राथमिकता रहनेछ ।
४) निर्वाचनको मैदानमा नीति बहसभन्दा व्यक्ति र समीकरण केन्द्रित हुने गरेको प्रतिस्पर्धाको प्रवृत्ति भत्काएर सहि ट्र्याकमा ल्याउन बिशेष पहल गरिनेछ ।
५) पदमा पुगेपछि त्यसलाई `गोत्र´ जस्तै संधै आफ्नो बनाउन चाहने प्रवृत्तिलाई निस्चित बिधिको माध्यमबाट नियन्त्रण र समाप्ति ।
६) कुनै पनि प्रकृतिको निर्वाचन प्रचारमा बढेको खर्च र खर्चको अपारदर्शीता लोकतान्त्रिक संस्कृतिमा नराम्रो धब्बाका रूपमा विकसित छ l यसलाई अन्त्य गर्न आवश्यक कानुनी र ब्यवहारिक पहल ।
७) निर्वाचनका बेला जारि गरिने घोषणापत्रको कार्यान्वयन केकति हुने गरेका छन् त्यसको बार्षिक समिक्षा प्रतिवेदन ब्यक्ति र पार्टी दुवैले गर्नुपर्ने बिधिको विकास ।
८) निर्वाचनपछि नागरिकसँग जनप्रतिनिधिको दूरी बढ्ने गरेको तितो यथार्थ आत्मसात गर्दै सदैव जनमुखी संस्कारको विकास ।
प्रस्तुत बुँदाहरुमा उल्लेख गरिएका प्रवृत्ति यो या त्यो दलको समस्या भन्दा पनि समग्रमा हाम्रो राजनीति भित्रको संस्कृतिका समस्या हुन् । त्यसैले समाधान न त व्यक्तिको परिवर्तनबाट मात्र संभव हुन्छ, न त केवल एक राजनैतिक घोषणाले यो संभव हुन्छ l अत प्रणाली, प्रक्रिया र संस्कारको परिवर्तनबाट समाधान खोज्न हामी हरसंभव जुट्नेछौं ।
१२) सामाजिक संजाल ; लोकतान्त्रिक संस्कृतिको विकासमा सदुपयोग कसरी !
सामाजिक संजालमा लाखौंको संख्यामा सचेत जमात छ, जो जागरुक छ, देश तिब्र ढंगले बनोस् अपेक्षा राख्दछ, केहि गरौं हुटहुटि छ । यो सबै प्रशंसनीय कार्यका बिच गालिमा सन्तुष्ट हुने मनोबिज्ञान पनि छ । यसको दोषी ति होइनन् जो लेखेर सन्तुष्ट हुन्छन्, दोषी हामी हौं जसले आवेग पस्कियौं । जब हामी एकापसको प्रतिस्पर्धालाई हार्दिक बनाउन सक्दैनौं, जब हामी हाम्रा समर्थकलाई संयमित रहन सचेत गराउँदैनौं, तब स्वभाविक छ संजालमा गालिको जूलूस निक्लिन्छ र त्यो हाम्रा विरुद्ध पनि निक्लिन्छ ।
कहिल्यै स्थगित नहुने `खुला जन संसद´ का रुपमा सामाजिक संजाल हाम्रो देशमा सबल अस्तित्वमा छ । कहिले विचारको बहसमा त कहिले युद्धको मनोबिज्ञानमा यो देखिन्छ । हामीले संकल्प गर्नुछ- सामाजिक सञ्जालमा राजनीतिक रुपले भिन्न विचार र व्यक्तिप्रति हुँदै आएको कटु प्रहारको शैलिलाई संयम र परिपक्व ढंगको स्वस्थ आलोचना तर्फ प्रेरित गर्न हामी स्वस्थ बहसको थालनी गर्छौं । सामाजिक संजाललाई लोकतान्त्रिक संस्कृतिको विकासमा सदुपयोग गर्न सकिन्छ, सक्नुपर्छ । यस बारे आवश्यक बहसको पहलकदमि जरुरी छ ।
१३) जनादेश : पाँच वर्ष बाटो बिराउन `मौन अनुमति´ होइन
०७९ मा बनेको संसद आफ्नो आयुको पाँचबर्ष पुरा नगरि अल्पायुमा विघटित भयो । संविधानले परिकल्पना नगरेको त्यो संसदको त्यो बिदाइ, इतिहासकै अन्तिम हो कि यस्तो नियति फेरि दोहोरिन सक्छ ? यस्तो प्रश्नको उत्तर बिधि र बिज्ञानसँग उपलब्ध छैन, उपलब्ध हुन्न । तर बडा किटानिका साथ यति भन्न सकिन्छ- संसद या सरकारहरुको आयु अब आरामदायी गणितमा मात्रै निर्भर छैन, यसले माग गर्दछ – नागरिकको निरन्तरको विश्वास l अनि त्यो विश्वासको नाभि सोझै जोडिएको हुन्छ – सुशासनसँग l अर्थात यहाँनिर गाँसिन आइपुग्छ- लोकतान्त्रिक संस्कृतिको प्रश्न ।
लोकतान्त्रिक प्रणालीको वचन हुन्छ- सरकार या दलहरूको समिक्षा तिमि चुनाव मार्फत हरेक पाँच बर्षमा गर l तर बदलिएको सामाजिक मनोबिज्ञानिकले त्यो पाँच बर्षको प्रतीक्षा गरिरहेको देखिन्न l उसको सचेत, सजग र खोजि नजरले सरकार र दलहरूको समिक्षा नियमित रुपमा र दैनिक रुपमै गरिरहेको हुन्छ । हामी सबै थरि दलले अब साझा रुपमै स्पष्ट बुझ्नुपर्दछ निर्वाचनको जनादेश पाँच वर्ष बाटो बिराउन `मौन अनुमति´ होइन ।
राजनीतिक दलहरुले पाँच बर्षमा एकपटक चुनावी घोषणा पत्र सार्वजनिक गर्ने र त्यसैभित्र सम्बन्धित दलको सम्पुर्ण कुरा खोज्नुपर्ने परम्परा भन्दा अब भिन्न प्रस्तुति नागरिकले चाहेका छन् । खोजेका छन् निरन्तरको जवाफदेहीता ।
त्यहि जवाफदेहीता हो लोकतान्त्रिक संस्कृति । यसलाई क्षय हुन नदिँदामा स्थिरताको आयु देखिन्छ ।
१४) डिजिटल कांग्रेस ; पार्टीको निर्णय प्रक्रियामा बहुसंख्यकको भावना प्रतिनिधित्व यसरी कुनै पनि राजनैतिक दल लोकतान्त्रिक छ भनिरहंदा जब कसरी भन्ने प्रश्न उठ्छ, तब उ सँग सैद्धान्तिक ब्याख्या र इतिहासको योगदानको पाटो जरुर आउला तर तत्कालीन रूपमा जोख्नुपर्ने मापदण्ड भनेको उसको निर्णयमा बहुसंख्यक नागरिकको भावनाको प्रतिनिधित्व छ कि छैन र त्यो निर्णय प्रक्रियामा `ग्रास रुट´ का पार्टी सदस्यको सोच प्रतिबिम्बित छ कि छैन l अर्थात निर्णयमा बहुसंख्यक नागरिकको भावनाको प्रतिनिधित्व अनि निर्णय प्रक्रियामा बहुसंख्यक पार्टी सदस्यको सोचको प्रतिनिधित्व ।
बिशेष महाधिवेशन पश्चात् कृयाशिल सदस्यता अधावधिक गर्ने निर्णय पार्टीले गर्नुको विविध मध्येको एक कारण यहि थियो l अब पार्टीले चाहेको बेला महत्त्वपूर्ण मुद्दामा सोझै कृयाशिल सदस्यको धारणा प्रविधि मार्फत बुझ्न सक्दछ l डिजिटल युगमा राजनीतिक संगठन केवल कार्यालय र भौतिक उपस्थितिको बैठकमा सीमित रहन सक्दैन l डिजिटलाइज्ड बन्दै जानु भनेको प्रविधि मैत्री बिषय मात्र होइन, निर्णय प्रक्रियामा बहुसंख्यक पार्टी सदस्यको भावना बुझ्ने माध्यमको विकास पनि हो र यो नागरिक एवं पार्टी सदस्यको भावना विपरीतका निर्णय थोपरिएका विगतका कतिपय गलत प्रवृत्तिलाई अब पुर्णविराम लगाउने महत्त्वपूर्ण प्रक्रिया हो l
लोकतान्त्रिक संस्कृतिमा क्षयको बिषयलाई बन्देज लगाउँदै युगानुकुल रुपान्तरण गर्न सकिने एक प्रयास हो- डिजिटल कांग्रेस । डिजिटल प्रविधि प्रचारको माध्यम मात्र होइन, नागरिकसँग संवाद, सहभागिता र उत्तरदायित्वको माध्यम बन्नुपर्छ ।
१५) हामी यो गर्दैनौँ : १५ औं महाधिवेशनमा १५ संकल्प
लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरण तर्फ बढ्न १५ औँ महाधिवेशन मार्फत नेपाली कांग्रेस स्पष्ट रूपमा यि १५ सार्वजनिक संकल्प गर्दछ –
१) व्यक्तिको बिचारलाई केन्द्रमा राख्छौं तर बिचारको केन्द्रमा ब्यक्तिलाई राख्ने ब्यक्ति केन्द्रित राजनीति गर्दैनौँ ।
२) फरक विचार अनिवार्य आत्मसात गर्छौं, तर त्यसलाई स्थायि गुटका रूपमा विकास गर्ने प्रवृत्तिलाई लाई संगठनको आधार बनाउँदैनौँ ।
३) ब्यक्तिको प्रभावको बलमा कुनै पदलाई निजको `गोत्र´ जस्तै स्थायी गराएर पटकपटक र अनेक पटक दोहोरिने प्रवृत्तिलाई विल्कुलै स्वीकार गर्दैनौं ।
४) विचार र सिद्धान्तलाई प्रतिकुल अवसर अनुसार बदल्दैनौँ ।
५) पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता दिँदैनौँ ।
६) पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार गर्दैनौँ ।
७) नागरिक जनादेशलाई अहंकारमा बदल्ने दुस्प्रयास गर्दैनौं ।
८) चुनावी घोषणापत्रलाई `ऋण लिएर बिर्षिने तमसुक´ मा सीमित गर्दैनौँ ।
९) कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार गर्दैनौँ ।
१०) सार्वजनिक पदलाई निजी लाभको माध्यम बनाउँदैनौँ ।
११) सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा बनाउँदैनौँ ।
१२) कलिलो `एज´ का कारण परिपक्व `एजेन्डा´ लाई नजर अन्दाज गर्दैनौं l अर्थात योग्य युवालाई नेतृत्वको प्रतिक्षामा सीमित गर्दैनौँ ।
१३) समावेशितालाई केवल संख्यामा सीमित गर्दैनौँ, संगैमा यो अवसरको प्रयोगमा उनै अनुहार निरन्तर दोहोरिने परम्परा दोहोर्याउँदैनौं ।
१४) योगदानको सदैब कदर गर्नेछौं, तर त्यसैलाई नै योग्यताको एकमात्र आधार बनाउँदैनौँ ।
१५) अल्पकालीन स्वार्थलाई संस्था, विचार र लोकतान्त्रिक मूल्यभन्दा माथि राख्दैनौँ ।
१६) अब हामी यो गर्छौँ : १५ सकारात्मक संकल्प
१) नेतृत्वलाई बलियो बनाउँछौ, तर संस्थागत क्षमता बढाएर मात्रै संगठन र संगठनको नेतृत्व बलियो बन्नसक्ने मान्यतासाथ योजनाबद्द कार्य गर्नेछौं ।
२) पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिन्छौँ।
३) गुटको सट्टा दृस्ठिकोण, योजना, ब्यक्तित्व र विचारको आधारमा आन्तरिक प्रतिस्पर्धा गर्ने संस्कृतिको विकास गर्छौ ।
४) `तिन दिन पार्टीका लागि चार दिन रोटिका लागि´ भन्ने मान्यता साथ पार्टीको हरेक सदस्यलाई आय आर्जनसँग जोडिन प्रेरित गर्छौं, ताकि राजनीतिका कारण उसको पारिवारिक जीवन संकटमा नपरोस् अनि भोलि कुनै आर्थिक अफ्ट्यारो र अनियमितताको मुद्दामा नपरोस् ।
५) उम्मेदवार छनोटका मापदण्ड `इलेक्सन ब्युरो´ मार्फत सार्वजनिक गर्छौँ ।
प्राइमरीको पाइलट प्रोजेक्ट अघि बढाउने छौं ।
६) चुनावी घोषणापत्रलाई हाम्रा जनप्रतिनिधिको कार्यसम्पादनसँग जोड्छौँ र निश्चित अवधिमा कार्यसम्पादन फेहरिस्त अनिवार्य सार्वजनिक गर्नुपर्ने पद्धति विकास गर्छौं ।
७) निर्वाचित प्रतिनिधिको नियमित सार्वजनिक प्रतिवेदनको संस्कृति बसाउँछौँ ।
८) जातिय विभेद लगायत कुनैपनि प्रकृतिका सामाजिक विसंगतिमा संलग्न पार्टि सदस्यको सदस्यता तत्काल खारेजी गर्ने ब्यवस्था कडाइ साथ कार्यान्वयन गर्नेछौं ।
९) सरकारमा रहँदा कुनै पनि राजनैतिक नियुक्ति गर्नुपर्दा Integrity Vetting System अनिवार्य लागु गर्नेछौं ।
१०) सामाजिक सञ्जालमा सकृय पार्टी सदस्यलाई संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सिमालाई असर नगर्ने गरि एक निश्चित आचारसंहिताको स्वघोषणाका लागि प्रेरित गर्नेछौं l ।
११) देशभरका पार्टी कार्यालयलाई नागरिक संवाद केन्द्र बनाउने क्रम शुरु गर्नेछौं ।
१२) सार्वजनिक पद र निजी व्यावसायिक स्वार्थबीच उत्पन्न हुन सक्ने द्वन्द्व व्यवस्थापनका लागि स्पष्ट कानुनी संरचना निर्माणको पहलकदमि लिनेछौं ।
१३) पार्टीको सदस्य कहिँ पनि कुनै लनि सार्वजनिक संस्थाको नेतृत्वमा पुगिरहँदा पार्टीको हित होईन, सम्बन्धित संस्थाको वृहत्तर हितमा समर्पित हुन प्रेरित गर्नेछौं ।
१४) पार्टीको परिमार्जित बिधान बमोजिम ३५ बर्ष मुनिका जागरुक नवयुवाहरुलाई लोकतान्त्रिक संस्कृतिमा आएको क्षयको बाछिटाबाट जोगाउँदै स्वस्थ लोकतान्त्रिक संस्कृतिको अभियन्ताका रूपमा विकास गर्नेछौं ।
१५) नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँछौँ ।
१७) लोकतान्त्रिक संस्कृतिको जगेर्नामा कानुन परिमार्जन
संविधान, विद्यमान कानुन र नागरिक अधिकारको पूर्ण सम्मान गर्दै आवश्यक संवैधानिक तथा कानुनी परीक्षणपछि निम्न सुधारका लागि पहल गर्नुपर्ने आवश्यकतालाई हामी सार्वजनिक बहसमा लैजान्छौं
१. दल परिवर्तनमा उत्तरदायित्व ।
निर्वाचनको अवसरलाई मात्र लक्षित गरेर दल परिवर्तन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने कानुनी व्यवस्था।
२. उम्मेदवारीपूर्व दल सदस्यता ।
उम्मेदवारी दर्ताअघि निश्चित अवधिको सक्रिय दल सदस्यताको न्यूनतम मापदण्डबारे कानुनी व्यवस्था गर्ने विषयमा पहल l एउटा दलको ब्यक्ति अर्को दलबाट निश्चित समय `कुलिङ पिरियड´ पस्चात मात्रै उम्मेदवार बन्नसक्ने मापदण्ड र संस्कृतिको विकास ।
३. स्वतन्त्र जनादेशको संरक्षण
स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालमा दल परिवर्तन वा दल प्रवेश गर्दा `स्वतन्त्र´ मतको अनादर हुने यथार्थसँगै , विजयी उम्मेदवारको दल चयन गर्नसक्ने संवैधानिक स्वतन्त्रता समेतलाई दृस्टिगत गरेर जनादेशसम्बन्धी प्रश्नलाई कानुनी रूपमा स्पष्ट गर्ने ।
१९. नीति बहस : गुटको विकल्प विचार
परम्परागत गुटहरु भत्काउनुको अर्थ नयाँ गुटहरुको जग हाल्नु होइन । गुटको वास्तविक विकल्प विचार हो । यसको अर्थ भिन्न मतलाई निषेध होइन, लोकतान्त्रिक पार्टी भित्र प्रश्न, विमति र विरोधलाई स्वभाविक रुपमा लिइन्छ, लिनुपर्छ, काँग्रेसले त्यहि रूपमा यसलाई अंगिकार गर्दछ l तर गुट परम्पराको अतिसय राजनीतिबाट विशेष अधिवेशनपछि मुक्तिको घोषणा गरेको काँग्रेसले अब आन्तरिक स्वतन्त्र विवेकहरुलाई निषेध नगरी निति बहसको दिशामा सार्थक ढंगले सबैलाई अभिप्रेरित गर्नेछ ।
पार्टीले निति प्रतिस्ठान मार्फत मानसिक स्वास्थ, जलवायु, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, प्रविधि, पुर्वाधार, परराष्ट्र नीति, संघीयता, सामाजिक न्याय आदि अनेक विषयमा नियमित नीति बहस सञ्चालन गर्नेछ । तिनले उत्पादन गर्ने विचार पार्टीले ग्रहण गर्नेछ ।
अन्त्यमा
लोकतान्त्रिक संस्कृतिमा भएको क्षय छोटो अवधीमा अचानक भएको दुर्घटना थिएन । अनि लागेको चोट झट्टपट्ट हतारको औसधिले बिषेक हुने प्रकृतिको पनि छैन l हामी स्पष्ट हुनुपर्छ – एक बाहेक अन्य सबै मुख्य राजनैतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको थियो l र अब लोकतान्त्रिक संस्कृतिमा आएको क्षयको उपचारको नेतृत्व पनि काँग्रेसले गर्नुछ ।
त्यसैले नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट एउटा स्पष्ट सन्देश दिनुछ- हामी केवल नेतृत्व परिवर्तन गरेर अघि बढिरहेको होईन, अपितु नेतृत्व गर्ने संस्कार नै परिवर्तन गर्दैछौं । हामी केवल संगठन विस्तार गर्दैछैनौं, संगठन गर्ने शैलि र संगठनको चरित्र समेत परिवर्तन गर्दैछौं । हामी चुनाव जित्ने तयारीलाई दोस्रो प्राथमिकतामा राखेर नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृतिलाई पहिलो स्थानमा राखिरहेका छौं ।



