गोरखबहादुर बिष्ट ‘आनन्द’ द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हिमाल प्रेस १९ असोज २०८३ १५:१३ | Monday, October 5, 2026
गोरखबहादुर बिष्ट ‘आनन्द’ द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

तीन दशकभन्दा बढी समयदेखि लोकतान्त्रिक आन्दोलन, संगठन निर्माण र सामाजिक सेवामा सक्रिय बिष्टले पार्टीलाई नयाँ पुस्ताको अपेक्षाअनुसार गतिशील, उत्तरदायी र नतिजामुखी बनाउने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।

उनले गुटबन्दी र आन्तरिक खिचातानीबाट माथि उठेर कांग्रेसलाई एकताबद्ध, अनुशासित र नीतिगत रूपमा स्पष्ट पार्टी बनाउने बताएका छन्। प्रविधिमैत्री कांग्रेस, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण र समावेशितालाई उनले आफ्ना प्राथमिकताका विषय बनाएका छन्।

प्रवासमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई राष्ट्र निर्माणमा जोड्न तथा नेपाली जनसम्पर्क समितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पनि भूमिका खेल्ने उनको प्रतिबद्धता छ।

बिष्ट कैलाली–४ बाट ६९० मतमध्ये ५६० मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक सेवासम्म

विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय बिष्ट सन् १९९८ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए। सन् १९९९ मा न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरेका उनले प्रवासबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर योगदान पुर्‍याए।

सन् २००५ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक बनेका बिष्ट २००८ र २०१४ मा दुई कार्यकाल सभापति निर्वाचित भएका थिए। उनको नेतृत्वमा अमेरिकाका विभिन्न स्थानमा २६ वटा च्याप्टर विस्तार भएका थिए। १३औँ महाधिवेशनपछि उनी तत्कालीन सभापति शेरबहादुर देउवाबाट आमन्त्रित केन्द्रीय सदस्य मनोनीत भएका थिए।

बिष्ट राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय छन्। कोरोना महामारी, २०७२ को भूकम्पलगायत विभिन्न विपद्का बेला राहत तथा पुनर्निर्माणमा उनले सहयोग गरेका थिए। अमेरिकामा रहेका नेपालीलाई रोजगारी, उपचार तथा आपत्कालीन सहयोग उपलब्ध गराउँदै आएका बिष्टले नेपालका विभिन्न जिल्लामा विद्यालय पुनर्निर्माण, एम्बुलेन्स तथा राहत सहयोगसमेत गरेका छन्।

१५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बिष्टले पार्टीलाई आधुनिक, पारदर्शी र जनविश्वासयोग्य बनाउन आफूले योगदान गर्ने बताएका छन्।

प्रकाशित: १९ असोज २०८३ १५:१३ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast