भोटेकोशी–त्रिशूली बाढी : सूचना पाएको ३० मिनेटमै उद्धारमा पुग्यो सेना

रमेश दवाडी १९ असोज २०८३ २१:०४ | Monday, October 5, 2026
भोटेकोशी–त्रिशूली बाढी : सूचना पाएको ३० मिनेटमै उद्धारमा पुग्यो सेना

काठमाडौँ- भदौ १० गते बिहान रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीपछि नेपाली सेना सूचना पाएको ३० मिनेटमै प्रभावित क्षेत्रमा पुगेर उद्धारमा जुट्यो, तर भौगोलिक कठिनाइ, बदलिँदो मौसम र ठूलो क्षेत्रमा फैलिएको विपद्का बीच उसले ४ हजार ४४२ जनाको उद्धार गर्नुपरेको थियो।

भीषण बाढीले एकाएक परिस्थिति बदलिदियो। नदीको बहावसँगै बस्ती, सडक, बाटो र सम्पर्कका संरचना प्रभावित भए। हजारौँ मानिस बेपत्ता भए। उद्धारका लागि पुग्नुपर्ने ठाउँसम्म सामान्य बाटो थिएन। नदी आसपासको भूगोल आफैँ कठिन थियो, त्यसमाथि बाढीले ल्याएको ढुंगा, गिट्टी र लेदोले उद्धारको चुनौती थपिदिएको थियो। मौसम पनि अनुकूल थिएन।

यही परिस्थितिमा मानवीय उद्धारका लागि तीनवटै सुरक्षा निकाय परिचालन भए। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी संयुक्त रूपमा उद्धारमा खटिए। खोज तथा उद्धारको अग्रपंक्तिमा नेपाली सेना थियो। बाढीको सूचना पाएपछि सेना परिचालनका लागि लामो समय कुर्नुपर्ने अवस्था भने आएन। मनसुन विपद् पूर्वतयारी योजना-२०८३ अनुसार आवश्यक जनशक्ति, हेलिकप्टर र अन्य स्रोतसाधन पूर्वतैनाथ अवस्थामा थिए। सेनाको संरचना विपद् आउनासाथ स्वतः सक्रिय हुने गरी तयारी अवस्थामा हुन्छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार विपद्को अवस्थामा नेपाली सेनाको हकमा आदेश पर्खेर मात्र परिचालन हुने अभ्यास छैन। ‘यो विपतमा नेपाली सेनाको हकमा कुनै पनि आदेश निर्देशन कुर्नु पर्दैन। स्वतःस्फूर्त रूपमा परिचालन भएर त्यहाँकाे अवस्था र परिचालन बारे जानकारी गराउने हो,’ उनले भने।

बस्नेतले सोमबार हिमालप्रेसलाई जानकारी दिएअनुसार भदौ १० गते बिहान करिब ९ बजेर १५ मिनेटमा बाढीको सूचना प्राप्त भएपछि ९ बजेर ४५ मिनेटमै हेलिकप्टर प्रभावित क्षेत्रमा पुगिसकेको थियो। ‘९:१५ बजे हामीलाई खबर आउनासाथै हाम्रो हेलिकप्टर ९:४५ मा बाढी प्रभावित ठाउँमा गइसकेको थियो,’ उनले भने,‘रसुवाको टिमुरेबाट त १० बजे चार जना तुरुन्त उद्धार गरिसकेका थियौँ।’

तर हेलिकप्टर उडाएर प्रभावित क्षेत्रमा पुग्नु मात्रै उद्धारको काम थिएन। कहाँ मानिस फसेका छन्, कहाँ पुग्न सकिन्छ, कहाँ हेलिकप्टर उतार्न सकिन्छ र कुन ठाउँमा हवाई उद्धार गर्नुपर्ने हो भन्ने मूल्यांकन एकैपटक गर्नुपर्ने अवस्था थियो। सडक सम्पर्क टुटेको ठाउँमा स्थलमार्गबाट उद्धार सम्भव थिएन। त्यसैले हवाई साधन उद्धारको प्रमुख माध्यम बन्न पुग्यो।

बाढी आएको सूचना प्राप्त भएलगत्तै प्रधानसेनापति अशोकराज सिग्देलले थप हवाई साधनसहित संयुक्त द्रुत प्रतिक्रिया टोली (Composite Quick Reaction Team) (CQRT) परिचालन गर्न, विशेषज्ञ चिकित्सक अधिकृतसहित मोबाइल अस्पताल तत्काल पठाउन र सबै सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धारमा खटिन निर्देशन दिएका थिए।

प्रधानसेनापति सिग्देल भदौ ११ गते आफैँ प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा अवलोकन गरेका थिए र आवश्यक निर्देशनसमेत दिएका थिए। सिग्देलले उद्धारमा खटिएको फौजलाई हौसला प्रदान गरे। यस्तो विषम परिस्थितिमा फौजको मनोबल कायम राख्नु नेतृत्वका लागि अर्को जिम्मेवारी थियो।

सेनाको विपद् व्यवस्थापनका लागि तयार संरचना स्थानीय, जिल्ला, प्रदेश र केन्द्र तहमा समन्वय गर्दै सक्रिय भयो। भौगोलिक अवस्थाले गर्दा उद्धारमा सबैभन्दा ठूलो चुनौतीमध्ये एक बनेको प्रवक्ता बस्नेत बताउँछन्। सेनाका अनुसार नदीको तटीय क्षेत्र, बाढीले बिगारेका सडक र बाटो, चट्टान तथा बाढीले बगाएर ल्याएको ढुंगा, गिट्टी र लेदोका कारण उद्धार टोलीका लागि सामान्य अवस्थामा जस्तो काम गर्न सकिने अवस्था थिएन।

बाढीको उद्धारमा भौगोलिक बनावटसँगै बाढीको अधिकतम तीव्रता, बदलिँदो मौसम र बाढीले बगाएर ल्याएको ढुंगा, गिट्टी तथा माटोको लेदो मुख्य चुनौती बनेकाे नेपाली सेनाले जनाएकाे छ। त्यसमा करिब ४० किलोमिटर क्षेत्रमा उद्धार गर्नुपर्ने अवस्था थपियो। ‘भौगोलिक रूपमा चाहिँ भौगोलिक बनावट, त्योसँगसँगै आएको त्यो म्याक्सिमम इन्टेन्सिटीको बाढी,’ सेनाका प्रवक्ता बस्नेतले भने, ‘अनि त्योसँगसँगै चाहिँ त्यहाँ बदलिने मौसम, अनि त्यसले बाढीले बगाएर ल्याएको ढुंगा, गिट्टी लगायतका त्यो माटोको लेदोहरू।’

उद्धारका क्रममा अर्को जटिलता हवाई यातायात व्यवस्थापनको थियो। प्रभावित क्षेत्र ठूलो थियो र उद्धारका लागि एकैपटक ठूलो संख्यामा हेलिकप्टर परिचालन गर्नुपर्ने अवस्था आयो। बस्नेतका अनुसार १५ देखि २२ वटासम्म हेलिकप्टर परिचालन भएका बेला हवाई क्षेत्रको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको थियो।

‘१५ देखि २२ वटासम्म हेलिकप्टरहरू मोबिलाइज हुँदाचाहिँ जुन एयर ट्राफिक कन्ट्रोल थियो, त्यो पनि एकदमै चुनौतीपूर्ण थियो,’ उनले भने। सडक नभएको ठाउँमा उद्धार सामग्री पुर्‍याउनु अर्को समस्या थियो। कतिपय ठाउँमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन। त्यस्ता स्थानमा आवश्यक सामग्री हेलिकप्टरबाट झुन्ड्याएर लैजानुपर्थ्यो। उद्धार सामग्री मात्र होइन, बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समेत यही विधि अपनाउनुपरेको थियो।

‘बाटो नभएको अवस्था भएको भएर विभिन्न उद्धारका सामग्रीहरू पनि हेलिकप्टरबाट झुन्ड्याएर’ लैजानुपरेको थियो। शव व्यवस्थापनका क्रममा पनि शवलाई सिलिङ गरेर ल्याउन परेकाे थियो। यसबीच सेनाले आफ्नै जनशक्ति र स्रोतसाधनलाई अधिकतम परिचालन गर्‍यो। स्थानीय रूपमा तैनाथ युनिटमा रहेका सैनिकसँगै काठमाडौँलगायत आसपासबाट विशेषज्ञ टोलीसहित थप सैनिक फौज प्रभावित क्षेत्रमा पठाइयो। नेपाली सेनाका अनुसार ९ हजार ३०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा खटिएका थिए।

काठमाडौँमा रहेका सैनिक हेलिकप्टरहरू तत्काल परिचालन गरिए। विपद्पछि काठमाडौँमा रहेका हेलिकप्टर उद्धारमा खटिए भने काठमाडौँबाहिर सैनिक एयर बेसमा रहेका हेलिकप्टरहरू पनि काठमाडौँ ल्याएर सोही दिनदेखि सैनिक हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिए। निजी कम्पनीका हेलिकप्टरसमेत उद्धारमा खटिएका थिए।

यति ठूलो जनशक्ति र हवाई साधन परिचालन भइरहँदा उद्धारको अर्को महत्त्वपूर्ण पक्ष थियो, समन्वय। एउटै निकायले मात्र यस्तो विपद्को सामना गर्न सम्भव थिएन। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायबीच एकैपटक समन्वय गर्नुपर्ने अवस्था थियो।

सेनाले बाढीको सूचना पाएलगत्तै नदी तटीय क्षेत्रमा रहेका सुरक्षा वेश र स्थानीय बासिन्दालाई सुरक्षित रहन स्थानीय युनिटमार्फत जानकारी गराएको थियो। त्यसपछि फौजलाई तत्काल खोज तथा उद्धारमा परिचालन गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

त्यसैगरी हेलिकप्टरबाट प्रभावित क्षेत्रको मूल्यांकन गर्दै त्यसैका आधारमा त्रिशूलीमा विपद् उद्धारका लागि ट्याक्टिकल हेडक्वार्टर स्थापना गरियो भने धुन्चेमा फर्वार्ड बेस स्थापना गरिएको निर्देशनालयको भनाइ छ। उद्धारको कमान्ड र समन्वयलाई फिल्डसम्म पुर्‍याउन यी संरचना महत्त्वपूर्ण बने। त्रिशूलीमा ट्याक्टिकल हेडक्वार्टर र धुन्चेमा फर्वार्ड अपरेटिङ बेस स्थापना भएपछि उद्धारका गतिविधिलाई एउटै संरचनाबाट समन्वय गर्न सहज भयो।

 

सेनाका अनुसार आर्मी हेडक्वार्टर तहदेखि पृतना र विभिन्न युनिट तहसम्मका संरचना एकैपटक सक्रिय भएका थिए। ‘हाम्रो आर्मी हेडक्वार्टर लेभल, त्यसैगरी पृतना तह, त्यसैगरी विभिन्न युनिट तहमा चाहिँ हाम्रो विभिन्न तहगत संरचनाहरू छ,’ सैन्य अधिकारीले भने, ‘त्यो तहगत संरचनाहरूको फिल्डमा खटिने तुरुन्त फिल्डमा खटिन्छन् र त्यसको तयारी गर्ने, त्यसको छलफल गर्ने, त्यसलाई थप स्रोतसाधनहरू उपलब्ध गराउने’ काम पनि सँगसँगै भयो।’

उद्धारमा खटिएका विभिन्न सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न सेनाको संयुक्त अपरेसन संरचना पनि सक्रिय भयो। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत विपद्‌मा विभिन्न हुने स्थानीय निकाय, स्थानीय प्रशासनसँगसँगै समन्वयात्मक ढंगबाट कार्य गर्नका लागि हाम्रो आर्मी हेडक्वार्टरको तहमा भएका विभिन्न संरचनाहरू एक्टिभेट हुने हाम्रो जोइन्ट अपरेसन सेन्टर पनि छ,’ बस्नेतले भने, ‘हाम्रो अपरेसन सेन्टरहरू एक्टिभेट हुनुका साथसाथै फिल्डसम्मको चाहिँ एकैचोटि एक्टिभेट हुन्छ।’

विपद्को समयमा एकअर्को सुरक्षा निकायबीचमा मात्र समन्वय सीमित थिएन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन समिति, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग पनि समन्वय भइरहेको थियो। केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापन समितिमा नेपाली सेना सदस्य रहने भएकाले उद्धार, राहत र पुनःस्थापनाका काममा समन्वयको संस्थागत आधारसमेत थियो।

उद्धारको क्रममा सेनाले हवाई साधनसँगै स्थलमार्गबाट पनि निरन्तर खोजी गरिरहेको थियो। बगर, बस्ती, जंगल र टनेलहरूलाई प्राथमिकतामा राखेर खोजी जारी राखिएको थियो। भदौ १० गतेदेखि स्थलमार्गबाट २०० र हवाई साधनबाट ४ हजार २४२ जनाको उद्धार गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार हवाई उद्धार गरिएकामध्ये २८३ जना विदेशी नागरिक थिए। स्थल र हवाई गरी जम्मा ४ हजार ४४२ जनाको उद्धार गरिएको थियो।

बाढी आएको दिन टनेलमा रहेका २८९ जनाको उद्धार गरियो। त्यसपछि भदौ १२ गते रसुवागढीबाट चार जना, भदौ १९ गते माथिल्लो त्रिशूली-३ बाट दुई जना र भदौ २० गते माथिल्लो त्रिशूली-१ बाट एक विदेशी नागरिकको जीवित उद्धार गरिएको थियो। उद्धारमा खटिएको सेनाले प्रभावितलाई सुरक्षित स्थानमा ल्याउने कामसँगै उपचारको व्यवस्थासमेत गर्‍यो।

त्रिशूलीमा मोबाइल अस्पताल र धुन्चेमा अस्थायी उपचार केन्द्र स्थापना गरियो। विशेषज्ञ चिकित्सक अधिकृतसहितको टोली परिचालन गरिएको थियो। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ४ हजार ३ जना प्रभावितले स्वास्थ्य सेवा पाएका छन्। तर उद्धारमा खटिएको सेना स्वयं पनि विपद्को चपेटाबाट बाहिर थिएन। 

रसुवाको बाढीका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाका ४५ जना सकलदर्जा सम्पर्कविहीन भएका थिए। निर्देशनालयका अनुसार हाल उनीहरू बेपत्ताकै सूचीमा छन्।

बाढीपछि सेनाको काम उद्धारमा मात्र रोकिएन। बाढीले सडक र सम्पर्क संरचना भत्काएपछि प्रभावित क्षेत्रसँग पुनः सम्पर्क स्थापित गर्नु पनि उत्तिकै आवश्यक थियो। त्यसका लागि सेनाले पृथ्वी राजमार्गमा जमेको लेदो पन्छाउने काममा सहकार्य गर्‍यो। नुवाकोट र रसुवाका तीन स्थानमा तुइन जडान गरियो। देवीघाटस्थित तादी नदीमा एक्रोब्रिज जडान गरेर धादिङ र नुवाकोटलाई स्थलमार्गबाट जोड्ने काम भयो। रसुवा र नुवाकोटको सीमामा रहेको वेत्रावती नदीमा अस्थायी संरचना निर्माणमा सहकार्य गर्दै बेलिब्रिज जडानका लागि फाउन्डेसन तयार पार्ने काम सुरु भएको छ।

धादिङको रोराङ-३ स्थित शितलबजारको सडक खुलाउन चट्टान फुटाउन ब्लास्टिङ गरिएको छ।रसुवाको स्याफ्रुबेँसीदेखि धुन्चे जाने बाटोमा एक्स्काभेटर प्रयोग गरी कडा चट्टान भएका ठाउँमा ब्लास्टिङ गरिएको निर्देशनालयले जनाएको छ। स्याफ्रुबेँसीदेखि चिलिमेसम्मको बाटो निर्माणको कामसमेत सेनाले गरेको छ। सेनाका लागि यो विपद् आगामी दिनका लागि सिकाइ पनि हो। सेनाले विपद्पछि ‘लेसन लर्न्ड’ तयार गर्ने अभ्यासअनुसार यस घटनाबाट देखिएका चुनौती र सिकाइलाई समेत अभिलेख गर्ने तयारी गरेको प्रवक्ता बस्नेतले बताए।

भौगोलिक बनावट, बाढीको तीव्रता, बदलिँदो मौसम, बाढीले बगाएर ल्याएको ढुंगा, गिट्टी र लेदो, लामो क्षेत्रमा उद्धार गर्नुपर्ने अवस्था तथा एकैपटक ठूलो संख्यामा हेलिकप्टर परिचालन गर्दा देखिएको हवाई व्यवस्थापनको चुनौतीले आगामी तयारीमा के कस्ता क्षमता थप आवश्यक पर्छन् भन्ने प्रश्न उठाएको छ। बस्नेतका अनुसार यस विषयमा चरणबद्ध छलफल भइरहेको छ। ‘कुनै पनि घटना पछिको एउटा लेसन लर्न्ड हुन्छ नि, सिकिएका पाठहरू हामीले निकाल्छौँ। ७२ को भूकम्पपछि पनि हामीले निकालेका छौँ,’ उनले भने।

स्रोतसाधनको सवालमा पनि सेनाले बदलिँदो विपद्का प्रकृतिअनुसार आफूलाई तयार पार्दै जानुपर्ने देखेको छ। नेपाली सेनाले सरकारबाट विनियोजन भएको बजेटको सीमाभित्र रहेर आवश्यक सामग्री खरिद गर्दै आएको छ। प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरूले पनि विपद् प्रतिकार्यका लागि आवश्यक स्रोतसाधन व्यवस्थापन गर्दै आएका छन्।

तर बस्नेतको बुझाइमा चुनौती उपकरण थप्नुमा मात्र सीमित छैन। विपद्को प्रकृति बदलिँदै गएको अवस्थामा त्यसअनुसारको विशिष्टीकृत क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक छ। ‘स्रोतसाधनभन्दा पनि हाम्रो विशिष्टीकृत प्रकृतिको जमिन र त्योसँगसँगै आउने विपत् पनि नयाँ नयाँ विपत्हरू जुन आइराखेका छन्, यी विपत्हरूलाई पनि समाधान गर्ने गरी हामीले आफ्नो व्यवस्थापन गर्दै गएको अवस्था छ,’ उनले भने।

यो पनि

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनासँग कस्ता उपकरण छन्?

तस्बिरहरू : नेपाली सेना

प्रकाशित: १९ असोज २०८३ २१:०४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast