काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगीअड्डामा दुई दिनदेखि सञ्चालित पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी र त्यसपछि वर्षासँगैको बाढीपहिरोपछि खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता र उदाहरणीय कार्यका लागि धन्यवाद दिए।
प्रधानसेनापति सिग्देलले आगामी दिनहरूमा पनि प्राप्त हुने जुनसुकै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए।
उक्त बैठकमा सेनाद्वारा सम्पादन भएका विभिन्न कार्यहरूको समीक्षा, वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य रणनीति तथा अन्य समसामयिक विषयहरूमा छलफल गरिएको थियो।
समारोहमा बलाधिकृत, रथीवृन्द तथा अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।




