तस्बिर : एपी
काठमाडौँ- फ्रान्सका विभिन्न भागहरुमा विद्यालयको खस्कदो अवस्था र शिक्षाको स्तरलाई लिएर विद्यार्थीहरुले सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक रुप लिएको छ।
फ्रान्समा जारी प्रदर्शनका कारण पाँच सयभन्दा बढी विद्यालयहरुको कामकाज प्रभावित भएको छ।
प्रदर्शनकारीहरुले सडकमा ओर्लिएर नाराबाजी गर्नुका साथै प्रहरीका केही सवारी साधनहरुमा आगो लगाइदिएका छन्। स्थिति नियन्त्रणमा लिन र आगजनीका घटना रोक्न दंगा नियन्त्रक प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनका क्रममा कम्तीमा ६५ कर्मचारी र ३०५ प्रहरी घाइते भएको फ्रान्सका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा करिब दुई हजार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शिक्षकको कमी, कक्षाकोठामा अत्याधिक भीड र जीर्ण भवनहरुको विरोधमा यो साताको सुरुमा पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशभर फैलिएको छ।
फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले विद्यार्थीहरुको सामान्य प्रदर्शनबाट सार्वजनिक व्यवस्था नै खलबलिने स्थितिमा पुगेको प्रतिक्रिया दिएका छन्।



